नेपालगञ्ज । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले मंगलबार नेपालगञ्जमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।“नेपाली कांग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन” प्रधानमन्त्री देउवाले भन्नुभयो “नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ , त्यसैले यो चुनाव जित्न आवश्यक छ ।” प्रधानमन्त्री देउवाले अहिलेको अवस्था चिन्ताजनक भएको पनि उल्लेख गर्दै भन्नुभयो,“तपाईहरु ढुक्क भएर नबस्नुहोला, यो चुनाव कुनैपनि हालतमा जित्नुपर्छ भन्ने ढंगले परिचालित हुनुहोला । ” सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै अधिनायकवादलाई परास्त गर्दै आएको उल्लेख गर्दै भन्नुभयो,“२००७ सालको जनक्रान्तिले राणा शासन फाल्यौ, २०४६ सालको आन्दोलनले पञ्चायत फाल्यौ, २०६२÷६३ को आन्दोलनले अधिनायकबादी राजतन्त्र फालेर लोकतन्त्र ल्याएको हो , जनताको अधिकारकालागि लड्ने पार्टी कांग्रेस बाहेक अर्को छैन ।” उहाँले निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सिंगो पार्टी एकढिक्का भएर लाग्न पनि निर्देशन दिनुभएको थियो । उहाँले नेपालगञ्ज मध्यपश्चिमको केन्द्र रहेको र नेपालगञ्जको माहोलको प्रभाव कर्णालीसम्म पर्ने भएकोले बाँके र यससंग जोडिएका बर्दिया,सुर्खेत,दाङ् सबै जिल्लामा नेपाली कांग्रेसलाई बिजयी बनाउन सम्पूर्ण कार्यकर्ता खट्नु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको सीट घटेको र निर्वाचनमा टिकट दिनुपर्ने योग्य आकांक्षीहरु धेरै भएकोले सबैलाई टिकट दिन नसकिएको बताउदै पार्टीको नेतृत्वमा सरकार बनेपछि योग्यता,क्षमता र दक्षता हेरी सबैलाई जिम्मेवारी दिइने बताउनु भएको थियो । प्रधानमन्त्री देउवाले मंगलबार नेपालगञ्जमा क्षेत्रीय सुरक्षा गोष्ठिलाई सम्वोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्नु भएको थियो । निर्वाचनको सन्दर्भमा प्रधानमन्त्री देउवा मंगलबार पश्चिम नेपालको भ्रमणमा निस्कनुभएको हो । उहाँ देउवा भोली मात्र धनगढी पुग्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया