नेपालगन्ज २८ कार्तिक । रोल्पा र रुकुममा उम्मेदवारमाथि भएको आक्रमणप्रती गम्भीर चासो देखाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा आशंका गर्दै मातहतको निकायलाई त्यस्ता घटना दोहोरिन नदिन निर्देशन दिनुभएको छ । नेपालगन्जमा आज क्षेत्रीय सुरक्षा गोष्ठिलाई सम्वोधन गर्दै गृहमन्त्री समेत रहनुभएका प्रधानमन्त्री देउवाले जवरजस्त चन्दा असुली, डर धाक धम्की दिएर निर्वाचनलाई प्रभाव पार्ने खालका अवाञ्छित कार्यप्रती सजक रहन सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित, भएरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । सुरक्षा गोष्ठिलाई सम्वोधन गर्दै गृहसचिव मोहनकृष्ण सापकोटाले केन्द्रमा बनेको सुरक्षा रणनीति जिल्ला मातहतका निकायले कार्यान्वयन नगरेको बताउनुभयो । रोल्पा, रुकुम र भोजपुरमा उम्मेदवारहरुमाथि श्रृङ्खलाबद्ध रुपमा आक्रमण भएको घटनाको स्मरण गर्दै गृहसचिव सापकोटाले जिल्लाका सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई स्पष्ट निर्देशन हुदा समेत सुरक्षा योजना कार्यान्वयन किन नभएको ? भनेर प्रश्न गर्नुभयो ।

गोष्ठिमा गृह प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय अनुसन्धानका महानिरीक्षक दिलिपराज रेग्मी, मध्यपश्चिमका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख, प्रदेश प्रहरी प्रमुख, संघीय प्रहरी इकाइका प्रमुखलगायतको गोष्ठिमा सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया