काठमाडौं – नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार रहेकी तेस्रोलिंगी महिला पिंकी गुरुङ अहिले चुनावी प्रचारमा व्यस्त छिन् । यस निर्वाचनमा उम्मेदवार हुने उनी एक मात्रै तेस्रोलिंगी महिला हुन् । नयाँ शक्ति पार्टीले निर्वाचन आयोगमा पठाएको सूचीमा पिंकीको नाम ६ नम्बरमा परेको छ ।‘पहिलो तेस्रोलिंगी महिला जसले आगामी (प्रदेश तथा प्रतिनिधिसभा) उम्मेदवार भएर जनताको घरदैलोमा पुग्न पाउँदा एकदमै खुसी छु । जनताको सकारात्मक प्रतिक्रिया पाइरहेकी छु,’ नयाँ शक्ति नेपालको संस्थापक सदस्यसमेत रहेकी गुरुङले भनिन् ।

१० वर्षअघि तेस्रोलिंगी महिलाको रूपमा परिचय सार्वजनिक गरेकी पिंकी जनताको घरदैलोमा पुग्दा तेस्रोलिंगी समुदायलाई हेर्ने र गर्ने व्यवहारमा आएको परिवर्तन देखेर दंग छिन् । भनिन्, ‘जनताको व्यवहारले मलाई एकदम उत्साहित बनाएको छ ।, उहाँहरूले गर्नुभएको सम्मान र मप्रति देखाउनुभएको मायाले हाम्रो समुदायलाई हेर्ने दृष्टिकोणमा आएको महसुस गरेको छ ।’ समुदायको प्रतिनिधित्व गरे पनि समग्र जनताको लागि काम गर्ने दृढ संकल्प रहेको उनको भनाइ छ । नयाँ पत्रिकाले छापेको छ ।

‘पार्टीले समुदायको प्रतिनिधित्व गराएको भए पनि कुनै राजनीतिक नेता वा कार्यकर्ताले सम्पूर्ण जनता र देशका लागि काम गर्नुपर्ने हुन्छ । यद्यपि, समुदायबारे अझ धेरै जिम्मेवारी हुनेछ,’ उनले भनिन्, ‘म नीलहिरा समाजको संस्थापक सदस्यसमेत भएकाले समुदायका लागि धेरै गरेँ । अहिले पनि गरिरहेकी छु र अझै नीतिगत तहमा पुगेर समुदायको मुद्दालाई मूलधारमा ल्याउने सोचेकी छु ।’आफूसँग भोट किन्ने धन नभए पनि देश र जनताका लागि काम गर्ने मन भएको उनी बताउँछिन् । सन् २००८ मा नेपालमा पहिलोपटक समलिंगी पुरुष सुनीलबाबु पन्त संविधानसभा सदस्य भएका थिए ।

तपाईको प्रतिक्रिया