कञ्चनपुर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारका लागि गाउँ पुग्ने उम्मेदवारसँग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका राना थारु समुदाय ऐलानी जग्गा दर्ता र घर घरमा पक्की शौचालयको माग गर्न थालेका छन् । वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गा दर्ता नहुँदा यहाँका बासिन्दाले अझैसम्म जग्गाको स्वामित्व पाउन सकेका छैनन् । खुला दिसामुक्त क्षेत्र घोषणा हँुदासमेत आर्थिक विपन्नताका कारण शौचालय बनाउन नसक्दा अधिकांश परिवार खुला ठाउँमै दिसापिसाब गर्न बाध्य छन् । ऐलानी जग्गा भोग चलन गर्दै आएको ३० वर्षभन्दा बढी भइसके पनि स्वामित्व पाएका छैनौँ स्थानीय वीरबल रानाले भन्नुभयो, “जग्गा दर्ता गर्ने प्रतिबद्धता गरी कार्यान्वयन गर्ने उम्मेदवारलाई मतदान गर्न आतुर छौँ ।” विगतमा मीठो अश्वासन दिएर मत माग्ने तर जितेपछि अनुहार नदेखाउनेलाई यसपटकको चुनावमा मत नहाल्ने उहाँले बताउनुभयो । “गाउँका ३० बढी परिवारले आर्थिक अभावले शौचालय बनाउन सकेका छैनन्”– वीरबलले भन्नुभयो, “नगरपालिकासँग आर्थिक सहयोग माग्दा नपाएकाले पक्की शौचालय निर्माण गर्न सहयोग गर्ने र बस्दै आएको घरबास जग्गा दर्तासमेत गरिनुपर्ने मत माग्न आउने उम्मेदवारसँग हाम्रा मुख्य दुईवटा माग छ । ”

मत माग्नका लागि पैसा बाँड्ने उम्मेदवारलाई गाउँबाटै यसपटक लखेट्ने योजनासमेत स्थानीयले बनाएका छन् । भोजभतेर र पैसाको लोभलालचमा नफसी काम गर्नसक्ने विश्वास भएको उम्मेदवारलाई नै गाउँको संयुक्त बैठकमा छलफल गरी एकमुष्टरूपमा एकमतले मतदान गर्ने राना थारु समुदायका अगुवाको भनाइ छ । भोग चलन गर्दै आएको जग्गामा उब्जाएको अन्नको लागत खर्च नउठ्ने गरी बजारमा बेच्नुपर्ने बाध्यता छभने बेलैमा रासायनिक मल नपाइने पाइए पनि अनुदानको मलसमेत चर्को मूल्य हालेर खरिद गर्नुपर्ने समस्या रहेकाले यसकोसमेत समस्या समाधान गरिनुपर्ने साहेव रानाले बताउनुभयो ।

राज्यका हरेक निकायमा राना थारु समुदायको प्रतिनिधित्वसमेत सुनिश्चित गरिनुपर्नेमा राना थारु अगुवा भरोसा रानाले जोड दिनुभयो । “राजनीतिदेखि राज्यका निर्णय गर्ने तहमा राना थारु समुदायको प्रतिनिधित्व नहँुदा हामीहरू पिछडिएका छौँ”– उहाँले भन्नुभयो, “यसको सुनिश्चितता गर्न प्रतिबद्ध गर्ने राजनीतिक दलका नेतालाई चुनावमा सघाउने योजना छ ।” कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्दै आएका राना थारु समुदायलाई यहाँको भूमिपुत्रका रुपमा लिइन्छ । भारतको उत्तराञ्चलको १२ गाउँबाट १२ परिवार राना थारु समुदाय बसाइँ सारेर परापूर्वकालमा कैलाली र कञ्चनपुरमा आएको राना थारु समुदायको भनाइ छ । कञ्चनपुरमा मात्रै राना थारु समुदायको संख्या एक लाख भन्दा बढी छ । मतदाता मात्रै ६५ हजार भन्दा बढी छन् ।

खुना समुदायबाट जातीय पहिचान राख्नेलाई मतदान

अल्पसंख्यकका रूपमा रहेका खुना समुदायले छुट्टै जातीय पहिचान कायम गरी समुदायको विकासमा सघाउ पु¥याउने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई मतदान गर्ने निधो गरेका छन् । लोपोन्मुख जाति भए पनि लोपोन्मुख जनजातिको सूचीमा सूचीकृत हुन नसक्दा राज्यबाट प्राप्त हुने हकअधिकारबाट खुना समुदाय बञ्चित हुँदै आएको छ । “शिक्षा, रोजगारी र नेतृत्व तहमा खुना समुदायको पहुँच पुग्न नसक्दा यहाँ बसोबास गर्ने अन्य जातिको दाँजोमा निकै पछाडि परेकाले राज्यको मूल प्रवाहमा समाहित गर्नका लागि विशेष अधिकार स्थापित गर्ने उम्मेदवारलाई मतदान गर्ने सोच अघि सारेका छौँ”– खुना समाजका सल्लाहकार सोभा खुनाले बताउनुभयो ।

“संविधानसभाको निर्वाचनमा अधिकारको कुरा उठाएका थियौँ”– उहाँले भन्नुभयो, “पूरा भएन, उम्मेदवारको अश्वासनमा भरपर्दा विश्वासघात गरे, स्थानीय तहमा बन्ने कानूनमा विशेष अधिकार दिइनुपर्ने कुरा उठाएर मतदान गरेका हौँ । अहिले पनि त्यही मुद्दालाई उठाएका छौँ ।” विशेष अधिकारको सुनिश्चित गर्ने उम्मेदवार अहिलेको रोजाइमा रहेको सल्लाहकार खुनाले समुदायको निर्णय सुनाउनुभयो । जनचेतनाको कमी, अशिक्षा र गरिबीका कारण खुना समुदाय समाजमा अगाडि आउन नसकेकार्ले सामाजिकरूपमा समेत समाजमा स्थापित गर्नका लागि कटिबद्ध हुने उम्मेदवार छनोट गरिने खुना समाजका सचिव पल्टा खुनाले बताउनुभयो । “बस्तीमा पुगेर धेरै उम्मेदवारले चिप्लो कुरा गरेर विगतमा मत मागेका थिए” उहाँले भन्नुभयो, “अहिले हामी अधिकारका लागि सचेत भइसकेकाले विशेष कार्यक्रम सञ्चालन गरी हाम्रो उत्थानमा टेवा पु¥याउनेलाई यसपटक मतदान गर्छौं ।” परापूर्वकालमा दाङको देउखुरीको खोनपुरुवा, धनपुरुवा, गङ्दीमा खुना समुदायको बसोबास थियो । जग्गा कब्जा र खुना समुदायलाई भेडा बाँध्ने ठाउँमा बाँधेर हत्या गर्न थालेपछि यस समुदायका केही व्यक्तिले ज्यान जोगाउनका लागि भागेर तराईका बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएको बताइन्छ ।

यो समुदाय नदी किनारामा बसोबास गर्ने भएकाले माछा मार्ने, सुन छान्ने र डुंगा चलाउने कार्यमा निपूर्ण मानिन्छ । थारु समुदायसँग घुलमिल भएकाले थारु मानिँदै आए पनि थारु भने होइन । यस समुदायको आफ्नै छुट्टै भाषा र संस्कृति पनि छ । भिमदत्त पन्तले सुदूरपश्चिममा चलाएको किसान आन्दोलनमा समेत खुना समुदायका व्यक्तिको सहभागिता थियो । सो किसान विद्रोहमा खुना जातिका व्यक्ति मुक्ति सेनाका रूपमा कार्यरत थिए । बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा गरी झण्डै ३९५ परिवार खुना समुदाय बसोबास गर्दै आएका छन् । कैलाली र कञ्चनपुरमा मात्रै २६ परिवार बसोबास गर्दै आएका खुना समुदायका १०० जना बढी मतदाता छन् ।

तपाईको प्रतिक्रिया