बागलुङ : पूर्वसभामुख ओनसरी घर्तीले निर्वाचनसँगै संविधान व्यावहारिक कार्यान्वनतिर गएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले स्थानीय तह निर्वाचनको सफलता संविधान कार्यान्वयनको आधारशीला रहेको बताउँदै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संविधानको व्यावहारिक कार्यान्वयनले गति लिने बताउनुभयो । “ठूलो राजनीतिक उपलब्धिपछि मुलुक नयाँ संविधान हुँदै अघि बढेको छ”, घर्तीले भन्नुभयो, “जनताको ठूलो उत्साह छ, अब देश आर्थिक समृद्धिको युगमा प्रवेश गर्छ ।” अहिलेका राजनीतिक दलसँग देशको समृद्धि र जनताको सुखबाहेक अर्को कुनै लक्ष्य नरहेको उहाँको भनाइ छ । विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्षको जगमा प्राप्त उपलब्धिको रक्षा गर्दै देशको मुहार फेर्नतर्फ सबै लाग्नुपर्नेमा घर्तीले जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र) की नेत्री घर्तीले दलबीच भइरहेको धुव्रीकरण स्वाभाविक भएको बताउँदै विचार मिल्ने दलबीचको एकता प्रक्रिया मुलुककै हितमा हुने र धेरै दल हुँदा राजनीतिक अस्थिरता निम्तिने विचार राख्नुभयो ।

“वाम एकता र प्रजातान्त्रिक शक्तिबीचको एकता जनताको आकंक्षाअनुसार नै भएको हो”, उहाँले भन्नुभयो, “यो मुलुकको वस्तुगत अवस्थाको माग पनि हो, यसलाई सबैले स्वाभाविक रुपमा लिनुपर्छ ।” संविधानले महिलाको अधिकारलाई पनि सुनिश्चित गरेको छ भन्दै थप अधिकारका लागि आफूले सधँै पैरवी गर्ने घर्तीले बताउनुभयो । “संविधानले महिलालाई पहिलो पटक अंश र वंशको अधिकार सुनिश्चित गरेको छ” घर्तीले भन्नुभयो, “यसले समानतामूलक समाज निर्माणमा ठूलो टेवा पु¥याउँछ ।” महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा स्वावलम्बी बनाउनुपर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया