चितवन – शुक्रबार नारायणगढस्थित तरकारी बजारमा प्रतिकिलो १२० रुपैयाँको दरमा गोलभेँडा बिक्री भयो । सोही समयमा नारायणगढ बजारमा महँगो मानिने फलफूल स्याउ भने प्रतिकिलो १ सयदेखि १ सय ४० सम्ममा बिक्री भइरहेको थियो ।

चितवनमा अहिले सबैजसो तरकारीको मूल्य प्रतिकिलो एक सय रुपैयाँको हाराहारीमा छ । चाडपर्वको बहानामा तरकारीको मूल्य बढाएको व्यापारीले अहिलेसम्म पनि नघटाएको उपभोक्ताको आरोप छ । भरतपुर २७ मेघौलीकी अमृता महतो भन्छिन्, ‘तरकारीको मूल्य छोइसाध्य छैन, किसानले मूल्य पाएन भन्दै गर्दा हामी उपभोक्ताले यति महँगो तरकारी खानुपर्ने स्थिति कसरी आयो सरकारले अनुगमन गर्नुपर्छ ।’

भरतपुरका स्थानीय पूर्णकुमार श्रेष्ठका अनुसार तिहारपछि तरकारीको मूल्य अकासिएको हो । उनले भने, ‘यसका लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । उपभोक्ता पनि यस विषयमा सचेत हुन आवश्यक छ ।’ तरकारी व्यवसायीकाअनुसार तिहारपछि तरकारीको मूल्य गत १६ गते सबैभन्दा उच्च भएको थियो ।

अहिले भने तरकारीको मूल्य कम भइसकेको व्यवसायीहरूको भनाइ छ । तरकारी महँगो हुँदा सबैभन्दा बढी असर होटेल व्यवसायीलाई परेको छ । त्यस्तै दैनिक ज्याला मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने सामान्य परिवारलाई पनि कठिन भएको छ । सामान्य परिवारलाई एक छाक तरकारी खान पनि चार(पाँच सय खर्च लाग्ने गरेको भरतपुर १० की ऋतु खड्काको भनाइ छ ।

तर, फलफूल तथा तरकारी व्यवसायी संघ चितवनका अध्यक्ष थिरप्रसाद धिताल भने तरकारीको मूल्य सामान्यतर्फ फर्किसकेको बताउँछन् । ‘चाडबाडको प्रभाव अझै पनि सकिएको छैन,’ अध्यक्ष धितालले भने, ‘तर, मूल्य समायोजन भइसकेको छ । उनकाअनुसार तिहारपछि छठ, एकादशीलगायतका पर्वले गर्दा तरकारी महँगो भएको हो ।

तरकारी काट्ने र ढुवानी गर्नेमा सबैभन्दा धेरै तराइवासीहरू भएको र उनीहरू छठपर्व मनाउन घर गएकाले तरकारीको आयात कम हुँदा बजारभाउ बढेको उनको भनाइ छ । अहिले बजारमा लसुनको मूल्य भने तीन वर्षयताकै कम भएको छ । दुई महिनाअघिसम्म चार सय रुपैयाँ किलोमा बिक्री भइरहेको लसुन अहिले १८० रुपैयाँ किलोमा बिक्री भइरहेको छ ।आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया