इलाम, २५ कात्तिक – पूर्वसभामुख सुवास नेम्वाङले देशमा पाँचवर्ष स्थिर सरकार र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा मत दिन आग्रह गर्नुभएको छ ।

इलाम क्षेत्र नं २ अन्तर्गत आज चुलाचुलीमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा पूर्वसभामुख नेम्वाङले संविधानले जनतालाई दिएको अधिकार अब वाम गठबन्धनले पूरा गर्ने बताउनुभयो ।

यसअघि एमालेले गाउँमा धेरै विकास गरेको र अब त्यसलाई पूर्णता दिन पनि वाम गठबन्धनलाई बहुमत दिलाउन उहाँले आग्रह गर्नुभयो । मुलुकको दिगो विकास र समृद्धि गठबन्धनको घोषणा पत्रमा उल्लेख भएकाले निर्वाचनपछि त्यसकै आधारमा अघि बढ्ने उहाँको भनाइ थियो ।

विचार र सिद्धान्त मिल्ने पार्टीसँग गठबन्धन गरिएको स्पष्ट पार्दै नेम्वाङले भन्नुभयो– “वाम गठबन्धन केवल निर्वाचनका लागि मात्र नभइ कम्युनिष्ट एकताका लागि भएको हो ।” देशमा दीर्घकालीन विकास र राजनीतिक स्थिरताका लागि वाम एकता अपरिहार्य भएकाले निर्वाचनपछि एकताको प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया