काठमाडौं । राज्यको कोष खर्चेर किनिएका सवारीसाधन समयमै लिलाम नगरिँदा त्यसै नष्ट भएर जाने गरेका छन्। ०४६ सालदेखि यातायात व्यवस्था विभागले सरकारी सवारीसाधनको दर्ता सुरु गरेको हो। दर्ता भएका सबै सवारीसाधनको लगतकट्टा नभएको विभागले जनायो।

विभागको तथ्यांकअनुसार आव ०७३/७४ मा मात्र देशभर ६ हजार ७७ वटा सरकारी गाडी दर्ता भएका छन्। तीमध्ये ९ सय ३५ वटा काठमाडौंमै दर्ता भएका छन्।

बाग्मती अञ्चलमा मात्र १३ हजार १ सय ९७ साना र ३ हजार ४१ ठूला गरी १६ हजार २ सय ३८ वटा सवारीसाधन दर्ता छन्। पहेंलो प्लेटका २ हजार २ सय ५६ वटा संस्थानका गाडी दर्ता छन् भने २५ हजारभन्दा बढी मोटरसाइकल दर्ता भएको छ। पुराना भएकाले यी सवारीका ब्ल्युबुकलगायत कागजातको कुनै अत्तोपत्तो नभएको कार्यालयको स्टोर शाखामा कार्यरत कर्मचारी बताउँछन्।

वन विभागमा नीलो प्लेटका १० वटा, सेतो प्लेटका ४ वटा र मोटरसाइकल २४ वटा छन्। लिलाम गर्दा कर अनिवार्य बुझाउनुपर्ने व्यवस्थाले सवारीको लगतकट्टा गर्न समस्या भएको वन विभागका कानुन शाखा प्रमुख अवोधकिशोरप्रसाद कुस्वाले बताए। लिलाम प्रक्रिया थालिए पनि ब्ल्युबुकलगायत आवश्यक कागजात नहुँदा समस्या भएको उनको भनाइ छ।

‘विभागसँग बजेट नभएपछि राजस्वरसवारी कर तिर्न समस्या भएको छु, उनले भने। ५ हजार रुपैयाँमा लिलाम हुने सवारीसाधनको राजस्व २० हजार रुपैयाँभन्दा बढी तिर्नुपर्ने भन्दै कर्मचारी कानुनी दायित्व पूरा गर्नबाट पन्छिँदै राज्यको सम्पत्ति खेर फाल्ने गरेका छन्।

सामान्य समस्या आउँदा पनि नयाँ सवारीसाधन खरिद गर्ने र मर्मत गरेर चलाउनुभन्दा त्यसै थन्क्याउनाले वर्षौंदेखि राजस्वसमेत नतिरेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए। ‘कानुनतः राजस्व नतिरेसम्म लिलाम र पत्रु गर्न पाइँदैन, उनले भने। देशैभर ३ लाखभन्दा धेरै सरकारी सवारीसाधन भएको विभागको अनुमान छ।

महालेखापरीक्षकको कार्यालयका सहायक प्रवक्ता अशोककुमार कार्कीले सकेसम्म सुझावका रूपमा वार्षिक प्रतिवेदनमा उल्लेख गर्दै आएको र कार्यान्वयन गर्ने अधिकार सरकारको भएको बताए। सुझाव कार्यान्वयन र बेरुजु असुलउपर गरे नगरेको हेरेर फेरि अर्को वर्षको प्रतिवेदनमा उल्लेख गर्दै आएको महालेखापरीक्षकको कार्यालयले जनायो। कानुनी रूपमा लगतकट्टा नगरेसम्म बेरुजुकै रूपमा उल्लेख भइरहने उनले बताए।

मेसिनरी उपकरण तथा सवारीसाधन लिलामको मूल्य खुलाउने प्रक्रिया कार्यालयले अघि नबढाउँदा राज्यलाई लाखौं रुपैयाँ नोक्सान भएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया