नेपालगन्ज २४ कार्तिक । आसन्न निर्वाचनलाई लक्षित गरि बाँके प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन दिएको निर्देशनलाई हतियारधनीले अटेरी गरेका छन् । मंसिर २१ गतेका लागि तय गरिएको प्रदेश र प्रतिनिधि सभा चुनावलाई मध्येनजर गर्दै बाँके प्रशासनले गत कार्तिक ११ गते १० दिन समय दिएर हातहतियार बुझाउन सूचना जारी गरेको थियो । तर हालसम्म १ सय २८ वटा हतियारमात्र प्रहरीलाई बुझाएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए ।

बाँके प्रशासनको अभिलेखमा जिल्लामा ७ सय ९८ जनाले इजाजत लिएर हतियार राखेको उल्लेख गरिएको छ । सबैभन्दा बढी भरुवा बन्दुक २ सय ६४ र एक नाले बाह्बोर १ सय ७७ जनासँग रहेको छ । प्रशासनले दिएको १० दिनको समयमा पनि सबैले हातहतियार नबुझाएपछि फेरि केही दिनका लागि समय दिएर हतियार बुझाउन आग्रह गर्ने तयारी गरेको छ । हातहतियार सबैले नबुझाउदा बाँके प्रहरीलाई सुरक्षा चुनौती थपिएको छ ।

निर्वाचनलाई लक्षित गरी बाँके प्रशासनले भने सबै खालको सुरक्षा तयारी अप्नाएको जनाएको छ । मतदानस्थल, मतदान केन्द्र, उम्मेदवार, मतदाता आउने जाने रुटसम्मको अवस्थालाई दृष्टिगत गरी तयार सुरक्षा योजना अनुसार काम भइरहेको प्रशासनले जनाएको छ ।

निर्वाचनका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी रहने छ । बाँकेमा रहेका १ सय ३६ मतदानस्थल मध्ये १ सय ८ मतदानस्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ । खुला सिमा नाकाका कारण पनि धेरै अति संवेदनशीलको सुचिमा परेका हुन ।

खुला सिमानाका बाट अबैध रुपमा हातहतियार भित्रन सक्ने भएकाले पनि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएको प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जनाए । उमेदवारको शुरक्षामा विषेस ख्याल गरीएको केसीले बताए ।

सिमाना नाका निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि नै बन्द गरीने प्रमुख जिल्ला अधिकारी केसीले बताए । अति संवेदनशील मतदानस्थलमा थप सुरक्षाकर्मी परिचालन गर्नेगरी तयारी गरिएको प्रमुख केसीले वताए । खुल्ला सीमाना, सडक पहुँचको अभाव, निर्वाचन बहिष्कार समूहलगायतलाई बाँकेमा चुनौतिका रुपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया