इलाम, २४ कात्तिक – नेकपा (एमाले)का वरिष्ठ नेता तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम गठबन्धनले देशलाई समृद्धितर्फ लैजाने बताउनुभएको छ ।

इलामको शान्तिपुरस्थित बदामटारमा आज आयोजित चुनावीसभामा नेता खनालले मुलुकमा कम्युनिष्ट शासनको पालामा धेरै विकास निर्माण भएको उल्लेख गर्दै वाम गठबन्धनले घोषणापत्रमा उल्लेख भएबमोजिम निर्वाचनपछि आर्थिक समृद्धि गरेरै छाड्ने दाबी गर्नुभयो । “वाम गठबन्धनपछि काँग्रेस र दक्षिणपन्थीको निन्द्रा हराएको छ”– उहाँले भन्नुभयो, “गठबन्धनले दुई तिहाइ मत ल्याउँछ भनेर विपक्षी पूरै अत्तालिएका छन् ।”

वामपन्थीले निर्वाचनपछि देश चलाउँदैछन् भन्ने सन्देश गएपछि देशीविदेशीमा चिन्ता बढेपनि नेपाली जनतामा भने खुशी छाएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले वाम गठबन्धनले मात्र मुलुकको राष्ट्रियता, स्वाधीनताको रक्षा गर्दै स्वतन्त्रता, अखण्डता र देशको पूर्वाधार विकासलाई महत्वका साथ अघि बढाई नेपाली जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने बताउनुभयो ।

स्थानीय जनताका आवश्यकताबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उहाँले भन्नुभयो, “विसं २०७० को निर्वाचनमा मलाइ जिताउनुभयो, मैले त्यो बेला कबुल गरेका ८० प्रतिशत विषय पूरा भइसके, अब २० प्रतिशत काम पनि म पूरागर्ने प्रण गर्छु ।”

कार्यक्रममा प्रदेशसभा १ (ख) का उम्मेदवार काजीमान कागतेले आफू निर्वाचित भए यस क्षेत्रमा रहेका स्थानीय जनताका आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

लोकतन्त्रको संस्थागत विकासका लागि वाम गठबन्धन : नेम्वाङ

यसैबीच, इलाम क्षेत्र नं २ का उम्मेदवार तथा पूर्वसभामुख सुवास नेम्वाङले लोकतन्त्रको संस्थागत विकास र स्थायित्वका लागि वाम गठबन्धन भएको बताउनुभएको छ ।

क्षेत्र नं २ अन्तर्गत महमाइमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै पूर्वसभामुख नेम्वाङले संविधान कार्यान्वयनको मुख्य जिम्मेवारी पुरा गर्न वाम एकताका साथ निर्वाचनमा होमिएको स्पष्ट पार्नुभयो ।

नेम्वाङले संघीय लोकतान्त्रिक गणतन्त्र भएको मुलुकमा जनताकै आदेश सदैव सर्वोच्च हुने विचार व्यक्त गर्नुभयो । निर्वाचनपछि मुलुकले आर्थिक विकासमा काँचुली फेर्ने बताउँदै अहिले विपक्षीले जनतामा भ्रम फैलाउन खोजेको आरोप लगाउनुभयो ।

महमाइ र दानाबारी जोड्ने चण्डालघाटको पुल निर्माणमा आफूले धेरै पहल गरेको र यो पुल निर्माण भएपछि यस क्षेत्रमा विकासको ढोका खुल्ने उद्घोष गर्नुभयो ।

एक सातादेखि चुनावीसभामा व्यस्त रहनुभएका नेम्वाङले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनले बहुमत ल्याएर पाँच वर्षसम्म सरकार चलाउने र त्यसबेला देशमा विकास र आर्थिक क्रान्ति हुने खालका योजना ल्याउने बताउनुभयो ।

आफ्नै पहलमा संविधानसभाबाट संविधान जारी भएको र संविधान कार्यान्वयनमा पनि आफू कटिबद्ध भएर लागेको विचार व्यक्त गर्नुभयो ।

प्रदेशसभा २ (ख) का उम्मेदवार धीरेन्द्र शर्माले यो क्षेत्र कृषिमा अगाडि रहेकाले कृषि क्षेत्रको विकासमा नयाँ योजना ल्याउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया