जितपुर, कात्तिक २४ । नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण कपिलवस्तु जिल्लाका एक किसानले दिएका छन् ।कपिलवस्तुको वाणगंगा नगरपालिका–८ बोडगाउँका किसान खुमानन्द पौडेलले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् ।१३ ओटा गाईबाट व्यवसाय सुरु गरेका पौडेलले पाँच कट्ठा जमिनभित्र गाईपालनका लागि गोठ बनाएका छन् । उनले तीन बिगाहा जमिन भाडामा लिएर पशुपालन व्यवसायका लागि घाँसखेती, धानखेतीसमेत गरेका छन् । सात लाख रुपैयाँबाट व्यवसाय सुरु गरेका पौडेलले अहिलेसम्म गाईपालनमा रू १५ लाख बराबरको लगानी गरिसकेका छन् । विसं २०७० देखि आफ्नै जग्गामा व्यावसायिक गाईपालनतर्फ लागेका पौडेलको फार्ममा होलस्टिन र जर्सी जातका २१ ओटा गाई र दुई ओटा भैँसीसमेत छन् । दैनिक १०० देखि १२५ लिटर दूध बेचेर उनले मासिक रू एकलाख २५ हजारसम्म आम्दानी गरेका छन् ।

गाईपालन मेहनतको पेशा भएकाले घरपरिवारको सहयोगमा मिलेर काम गर्ने गरेको छु भन्दै उनले यसबाट बालबच्चाको शिक्षा, घरपरिवारको दैनिक खर्च कटाएर मासिक रु ५० हजार जति आम्दानी हुने गरेको जानकारी दिए ।पौडेलले भने, ‘स्थानीय दुग्ध सहकारीमा दूध बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको हुँ ।’ सरकारले किसानलाई अनुदान दिने विषयमा ढिलासुस्ती गर्दा किसान मारमा परेको उनको गुनासो छ ।

भारतमा ३० वर्षसम्म रोजगारी गरेर नेपाल आएका पौडेलले अनुभवका आधारमा गाईपालन व्यवसाय सुरु गरेका हुन् । नेपालमा पशुपालन कृषकलाई दाना, मल, बिजुली बत्ती, पानीमा अनुदान दिनुपर्ने मागसमेत उनको छ । ‘कृषि प्रधान देश भनेर भन्ने गरे पनि कृषि पेशाप्रति राज्य उदासीन छ, उनले भने, यो पाराले देशमा कृषि क्रान्ति हुँदैन ।’विगत केही वर्षयता जिल्लामा व्यावसायिक गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको छ । यातायातको सुविधा गाउँगाउँसम्म पुगेपछि गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको हो । स्थानीयस्तरमा दुग्ध सहकारी संस्था सन्चालनमा आएपछि झनै किसानलाई राहत मिलेको छ ।

जिल्लामा १०० भन्दा बढी गाईपालन फार्म दर्ता भएको जिल्ला पशु विकास अधिकृत अब्दुल सलामले बताए । जिल्लाको उत्तरी क्षेत्र वाणगंगा र बुद्धभूमि नगरपालिकामा सबैभन्दा बढी व्यावसायिकरुपमा गाईपालन गरिँदै आएको अधिकृत सलामको भनाइ छ ।कपिलवस्तुबाट वार्षिक २१ हजार मेट्रिक टन दूध उत्पादन हुँदै आएको पशु विकास कार्यालयले जनाएको छ । यहाँको दूध बुटवल, भैरहवा हुँदै चितवनसम्म पुग्ने गरेको छ । जिल्लाको दक्षिणी भेगमा व्यावसायिकरूपमा भैँसीपालन गर्ने किसानको संख्या बढे पनि उत्तरी क्षेत्रमा व्यावसायिक गाईपालन हुने गरेको कार्यालयले जनाएको छ ।‘गाईपालन गरेका कृषकलाई कार्यालयले बेलाबेलामा अनुदान दिँदै आएको छ उनले भने, त्यसले गर्दा किसानलाई उच्च मनोबल मिलेको छ ।’

तपाईको प्रतिक्रिया