काठमाडौं – कहिले सातामा एउटा मात्रै फिल्म रिलिज हुन्छ । कुनै साता दुई त कुनै साता तीनवटा नेपाली फिल्मको भिडन्त हुने गरेको छ । तर, आज शुक्रबार भने एकसाथ चारवटा फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन्, मेला, सकस, रोमियो र तान्द्रो । सबैै फिल्मका निर्माताले आफ्नो फिल्म ‘तगडा’ भएको दाबी गर्ने गरेका छन् । परिणामतः चारवटै फिल्म प्रदर्शनमा आएका छन् । फिल्मसम्बन्धी संघसंस्था, सम्बन्धित निकाय निदाएको अवस्थाले अस्वस्थ भिडन्त अन्ततः विनाशोन्मुख देखिएको छ । चारवटा फिल्म प्रदर्शनमा आए पनि प्रचारप्रसार र फिल्मको ‘हाइप’ हेर्दा दर्शकले ‘मार्क’ गरेको भने देखिएको छैन ।

मेला हरि पन्तले वसन्त निरौलाको निर्देशनमा निर्माण गरेका हुन् । निर्माता पन्त उनै हुन्, जसले मेलाअघि उनै निर्देशक वसन्त निर्देशित ‘राजनीति’ फिल्ममा सहनिर्माताको भूमिका निर्वाह गरेका थिए । नाममा जति गहनता देखिन्छ, राजनीति त्यति नै फितलो बनेकाले हरि मेलाबाट आफ्नो पुरानो नोक्सानी पनि उठाउने कल्पनामा छन् । त्यसैले त उनले आफ्नै लेखन र सहनिर्देशनमा मेला निर्माण गरे । कलेज पढ्ने युवायुवतीको प्रेमप्रसंगको कथामा निर्माण गरिएको फिल्ममा सलोन बस्नेत, अशिष्मा नकर्मी र आमेश भण्डारी प्रमुख भूमिकामा छन् । फिल्ममा ‘परिचय पाउन हो’, ‘खाली हुँदै गिलास’ र ‘तिमीविना’ बोलका तीनवटै गीत चर्चामा छन् । त्यसकारण पनि निर्माता हरि मेलाप्रति निकै उत्साहित छन् ।

त्यसैगरी, एनबी महर्जनको निर्देशनमा सुन्दर श्रेष्ठले निर्माण गरेको ‘सकस’ एक्सन फिल्म हो । राजधानीमा हुने गरेको गुन्डागर्दी तथा संघर्षको कथा प्रस्तुत गरिएको बताइने फिल्ममा सुन्दर श्रेष्ठ, महिमा सिलवाल, विल्सनविक्रम राई, सुष्मा कार्की, विजेन्द्र सिंहलगायतले अभिनय गरेका छन् । अक्कल सिंह कार्यकारी निर्माता रहेको सकस मौनता श्रेष्ठले लेखेका हुन् । चार वर्षअघि निर्माण थालिएको फिल्म अहिले पनि उत्तिकै ‘फ्रेस’ र सान्दर्भिक लाग्ने दाबी निर्माण पक्षको छ । माओवादी जनयुद्धको पृष्ठभूमिको कथामा साम्तेन भुटिया निर्देशित तान्द्राले बुधबार सम्पन्न प्रिमियर सोमा राम्रै तारिफ पाएको छ । माओवादी युद्धको क्रममा खुट्टामा गोली लागेर घाइते भएको कोसिस नामक एउटा लडाकुको बाँच्ने आशाको विषयमा निर्माण गरिएको फिल्म गंगाबहादुर लामा लिखित पुस्तक ‘स्मृतिका डोबहरू’मा आधारित छ । फिल्ममा दयाहाङ राई, राजन खतिवडा, रामबाबु गुरुङ, बुद्धि तामाङलगायतले अभिनय गरेका छन् । नयाँ पत्रिकाले छापेको छ ।

नौलो प्रेमकथाका रूपमा व्याख्या गरिँदै आएको रोमियो हसन खानले निर्माण गरेका हुन् । नवनिर्देशक शंकर कार्की निर्देशित फिल्ममा हसन आफैँ, निशा अधिकारी, ओसिमा बनूलगायतले अभिनय गरेका छन् । हसनले यसअघि ‘अलबिदा’ नामक फिल्म निर्माण गरेका थिए । अभिनेताका रूपमा जम्ने उत्कट चाहका कारण हसनले निर्माण गरेको रोमियोको ‘ल्याङ ल्याङ’ बोलको गीत भने चर्चामा छ ।

तपाईको प्रतिक्रिया