काठमाडौँ, २४ कात्तिक- माओवादी अध्यक्ष प्रचण्डको परिवारबाट चारजना उम्मेदवार छन् । प्रचण्ड चितवन ३ र बुहारी विना मगर कञ्चनपुर १ बाट उम्मेदवार छन् । भूमिगतकालमा पक्राउ परेकी विनाले सैनिक हिरासतमा चरम यातना पाएकी थिइन् । उनी सरस्वती क्याम्पस स्ववियुकी पूर्वसभापति हुन् । भूमिगतकालमै सक्रिय भाइ नारायण दाहालले ०६४ मा चितवनबाट निर्वाचन जितेका थिए । यसपालि उनी प्रतिनिधिसभाको समानुपातिकमा उम्मेदवार छन् । त्यस्तै, प्रचण्डका ज्वाइँ जीवन आचार्य मोरङ ६ (क) बाट प्रदेश सभामा उम्मेदवार छन्, नयाँ पत्रिकामा खबर छ । पुन परिवारबाट तीनजना माओवादी नेता वर्षमान पुन र उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीमगर दुवै उम्मेदवार छन् । जनयुद्धमा सँगै हिँडेका पुन रोल्पाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ र पत्नी ओनसरी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । यस्तै, वर्षमानकी बहिनी लालकुमारी पुन ललितपुर १ (क)बाट प्रदेश सभा उम्मेदवार छिन् ।

तपाईको प्रतिक्रिया