काठमाडौं – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको बिहीबार एक महिना पुगेको छ । तर, केही दिनभित्रै अपराधी पक्राउ गर्ने दाबी गरेको प्रहरीले अझै पनि हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । अहिले मृतकका आफन्त तथा निर्माण व्यवसायीहरू हत्यारा पत्ता लाग्न नसकेको भन्दै आक्रोशित छन् । महिना बितिसक्दासमेत प्रहरी अनुसन्धानबाट कुनै उपलब्धि हासिल हुन नसकेको उनीहरूको आरोप छ । २३ असोजमा घरबाट कार्यालय जाने क्रममा बानेश्वर, शान्तिनगरमा गाडीभित्र रहेका गौचनमाथि गोली प्रहार भएको थियो । अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो ।

१ महिनामा प्रहरीले के गर्‍यो ? घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयका डिआइजी केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा विशेष ब्युरो, सिआइबी, अपराध महाशाखाका तथा महानगरीय प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू छन् । अनुसन्धान सुरु भएको एक साताभित्र प्रहरीले घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकल बरामद गरेको थियो । बरामद गरिएको एउटा पल्सर र एउटा साइन ब्रान्डको मोटरसाइकलमध्ये एउटा मोटसाइकल चोरीको थियो । अर्काे मोटरसाइकल एक वर्कसपको नाममा दर्ता भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल भेटिए पनि आक्रमणकारीहरू अझै भेटिएका छैनन् । प्रहरीले समीरमानसिंह बस्नेत र मनोज पुनको समूहमाथि अनुसन्धान गरे पनि कसैलाई पक्राउ गर्न सकेको छैन । छानबिन समितिका संयोजक डिआइजी गणेश केसी आक्रमणकारीहरू पक्राउ नपरेसम्म केही बोल्न नसक्ने बताए ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरूबीच राम्रो तालमेल नहुँदा गोली हान्नेहरूलाई पक्राउ गर्न ढिला भएको प्रहरी स्रोत बताउँछ । चैतमा काभ्रेका दावा लामालाई गोली हान्ने समूहसँग गौचन हत्याको सम्बन्ध भेटिएको स्रोतको दाबी छ । लामालाई गोली हानी घाइते बनाइएको थियो । तर, सोे घटनाको अनुसन्धानमा प्रहरीले गम्भीरता देखाएन । एक गुन्डाले अर्काे गुन्डालाई आक्रमण गरेको भन्दै प्रहरीले चासो नदेखाएका कारण आक्रमणकारी समूहको हौसला बढेको स्रोत बताउँछ । ‘त्यसैले उनीहरूले गौचनमाथिसमेत गोली प्रहार गरे,’ स्रोतले भन्यो । नयाँ पत्रिकाले छापेको छ ।

खुला सिमाना र प्रविधिले चुनौती अपराधी पक्राउ पर्न नसक्नुको कारण भारतसँगको खुला सिमाना र अपराधीहरूले गर्ने प्रविधिको प्रयोग हो । प्रहरी अनुसन्धानबाट हत्याका मुख्य योजनाकार भारतमा रहेको पत्ता लागेको छ । त्यस्तै, घटना संलग्न अन्य व्यक्तिहरू पनि भागेर भारत गइसकेको प्रहरीले जानकारी दिएको छ । प्राविधिक कमजोरीकै कारण एक महिनासम्म अभियुक्तहरू पक्राउ नपरेका हुन् । पक्राउलगत्तै लोप्साङ लामा नामक युवकले काठमाडौंका एसएसपी रवीन्द्र धानुकलगायतलाई फोन गरी हत्याको जिम्मेवारी लिएका थिए । तर, इन्टरनेट कल गरेकाले उनले कहाँबाट फोन गरे प्रहरीले पत्ता लगाउन सकेको छैन । ‘उनीहरूलाई सबै प्राविधिक पक्षको जानकारी छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘फेसबुक र इन्टरनेट कलहरू मात्र प्रयोग गरेका छन् ।’ पैसा असुल्नकै लागि आपराधिक समूहबाट गौचनको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । हुलाकी राजमार्गको ठेक्काको विषयलाई लिएर आपराधिक समूहले कमिसन मागेको र त्यही पैसा नदिएपछि उनीमाथि आक्रमण गरिएको अनुमान गरिएको छ । उनको हत्यापछि अरू ठूला ठेकदारहरूलाई समेत इन्टरनेटमार्फत धम्कीपूर्ण कल आएको थियो ।

तपाईको प्रतिक्रिया