काठमाडौं, कात्तिक २४ -१० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही शीर्ष नेता ‘रिङ आउट’को जोखिममा देखिएका छन् । एकै क्षेत्रबाट निर्वाचनमा होमिएका वाम गठबन्धन वा कांग्रेसका शीर्ष नेतामध्ये कुनै एकले मात्र संसद्को यात्रा तय गर्नेछन् । यो खबर विधुर ढकालले आजको राजधानीमा लेखेका छन्।

प्रदेश १ को झापा–१ मा चुनावी अभियानमा खटिएका छन् वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता राम कार्की र उनलाई चुनौती दिँदै छन्, कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले । यी दुईमध्ये कुनै एकले संसद्मा आफ्नो स्थान पाउनेछन् ।

चुनावी अभियानमा खटिएका यी दुई नेताले चुनावी अभियानका क्रममा एक अर्काको प्रशंसा गर्दै जसले जिते पनि एक अर्कालाई विजयीको माला लगाइदिने बताएका छन् । अब कसले माला लगाउने हो ? त्यो भने २१ मंसिरको निर्वाचनले फैसला गर्नेछ ।

झापा–३ बाट एउटा शीर्ष नेताको पराजय निश्चित छ । यहाँ कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् । लिङ्देनलाई वाम गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले समर्थन गरेका छन् ।

यस क्षेत्रमा राप्रपा आफैंमा पनि बलियो देखिन्छ । त्यसमाथि पनि वाम गठबन्धनको साथ लिएर अगाडि बढेका उनलाई जितका लागि कम संघर्ष गर्नुपर्ने देखिन्छ ।

कांग्रेसका सिटौला व्यक्तिगत रूपमा पनि परिचित तथा राष्ट्रिय राजनीतिका प्रभावशाली व्यक्ति हुन् । शान्ति प्रक्रियामा उनको भूमिकासमेत उल्लेख्य छ । तर निर्वाचनको दौडमा लिङ्देन र सिटौलामध्ये एकको पराजय निश्चित छ ।

प्रदेश १ कै मोरङमा पनि दुई हेभी वेट भिडन्त छ । मोरङ–४ बाट निर्वाचनको दौडमा कांग्रेस नेता महेश आचार्य र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी छन् । आचार्य कांग्रेसभित्र प्रभाव छाड्न सफल युवा नेता हुन् भने माओवादी केन्द्रका मोदी संविधानसभामा एकाएक कुर्सी फोडेर चर्चामा आएका हुन् ।

त्यस्तै मोरङ–६ मा कांग्रेसका डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितको रोचक भिडन्त हुँदै छ । कांग्रेसको प्रभाव क्षेत्रमा रहेको यस क्षेत्रबाट कोइराला खानदानले लगातार जित हासिल गर्दै आएको छ ।

यसपटक पण्डित वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेर कोइरालालाई कडा टक्कर दिँदै छन् । सामान्य प्रशासनमन्त्री हुँदा ‘ग्रिनकार्ड होल्डर’ कर्मचारीलाई कारबाही गरेर चर्चामा आएका थिए पण्डित । यहाँबाट यी दुई नेतामध्ये एक जनाले मात्र संसद्सम्मको यात्रा तय गर्नेछन् ।

प्रदेश २ को धनुषामा अर्को रोचक भिडन्त हुँदै छ । धनुषा–३ म नेपाली कांग्रेसका विमलेन्द्र निधि र राजपा नेपालका राजेन्द्र महतोबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । यसअघिका निर्वाचनमा यहाँबाट निधिले जित्दै आएका थिए । यसपटक निधिलाई चुनौती दिन महतो धनुषा छिरेका छन् ।

प्रदेश–३ को चितवनमा सबैको ध्यान केन्द्रित छ । चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बनेका छन् । यही क्षेत्रबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवं वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे उनीविरुद्ध निर्वाचन लड्दै छन् । कांग्रेसको साथ पाएका पाण्डे प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधारमन्त्री थिए । पहिलो संविधानसभा निर्वाचनमा साबिकको चितवन–५ बाट माओवादीको समर्थनमा तत्कालीन जनमोर्चाका अमिक शेरचनसँग पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनै पाण्डेले माओवादीबाट उम्मेदवार बनेका शेरचनलाई पराजित गरेका थिए ।

पाण्डे चितवनको राजनीतिमा भिजेका नेता मान्छिन् भने राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका दाहाल पहिलोपटक चितवनबाट निर्वाचन लड्दै छन् । यी दुईमध्ये चितवन–३ बाट एक जनाको मात्र संसद् बन्ने बाटो खुल्नेछ ।

त्यस्तै सिन्धुपाल्चोकमा–१ मा पनि हेभी वेट भिडन्त हुँदै छ । त्यहाँ वर्तमान सञ्चारमन्त्री र पूर्वसञ्चारमन्त्रीबीच चुनावी भिडन्त छ । बहालवाला सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई कांग्रेसले राप्रपा प्रजातान्त्रिकको समर्थनमा उम्मेदवार बनाएको छ । पूर्वसञ्चारमन्त्री तथा माओवादी केन्द्रका नेता अग्नि सापकोटा वाम गठबन्धनको तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् ।

काठमाडौं–१ बाट कांग्रेसका नेता प्रकाशमान सिंह छन् । उनलाई स्थानीय तह निर्वाचनमा उदाएको विवेकशील साझा पार्टीका संयोजक तथा रेग्मी सरकारका पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रबीच चुनावी होड चलिरहेको छ । काठमाडौं–४ मा कांग्रेसका युवा नेता गगनकुमार थापा र एमालेका डा. राजन भट्टराई तथा काठमाडौं–५ बाट एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । यी प्रभावशाली नेताहरूमध्ये एक जना अबको पाँच वर्ष संसदीय राजनीतिबाट बाहिरै रहनेछन् ।

प्रदेश ४ को गोरखामा अर्को हेभी वेट भिडन्त हुँदै छ । यहाँ पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीबीच चुनावी भिडन्त हुँदै छ । कुनै समय एउटै पार्टीमा रहेर राजनीतिक यात्रा तय गरेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच गोरखा–२ मा भिडन्त हुँदै छ । राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका यी दुई नेताले संविधान निर्माणमा समेत भूमिका खेलेका थिए ।

डा. भट्टराईले दोस्रो संविधानसभामा संविधान लेखनमा महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै श्रेष्ठले संविधानसभाबाहिरै रहेर संविधान लेखनमा महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । अबको पाँच वर्ष यी दुई नेतामध्ये कुनै एक संसद् भवनबाहिर हुनेछन् ।

रूपन्देही–१ मा पूर्वमन्त्री र पूर्वराज्यमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । यहाँ कांग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला सभापति एवं पूर्वराज्यमन्त्री अब्दुल रज्जाक उम्मेदवार छन् भने वाम गठबन्धनका तर्फबाट पूर्वमन्त्री छविलाल विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै रूपन्देही–३ बाट एमालेका युवा नेता घनश्याम भुसाल र राप्रपा प्रजातान्त्रिकका नेता तथा बहालवाला मन्त्री दीपक बोहोरा चुनावी प्रस्पिर्धामा छन् । त्यस्तै रूपन्देही–५ बाट कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री भरतकुमार शाह र माओवादी केन्द्रका पोलिटब्युरो सदस्य डिलाराम आचार्य चुनावी मैदानमा छन् ।

प्रदेश ५ कै कपिलवस्तु–१ बाट कांग्रेस नेता दीपकुमार उपाध्याय र माओवादी केन्द्रका नेता तथा तत्कालीन माओवादी सेनाका कमान्डर चन्द्रप्रकाश खनाल चुनावी मैदानमा छन् । उपाध्याय चुनाव लड्नकै लागि भारतका लागि नेपाली राजदूतको पदबाट राजीनामा दिएर गृहजिल्ला फर्किएका हुन् । त्यस्तै गुल्मी–१ बाट कांग्रेसका चन्द्रकान्त भण्डारी र एमाले सचिव प्रदीपकुमार ज्ञवालीबीच प्रतिस्पर्धा हुँदै छ । यी दुईमध्ये एकजना संसद् भवनबाहिर रहनेछन् ।

तपाईको प्रतिक्रिया