लमजुङ । मनाङका गाउँमा चिसो ह्वात्तै बढेको छ। दिउँसोबाहेक साँझबिहान बाहिर निस्कन मुस्किल पर्दै गएको छ। गाउँमा भोट मागेर हिँडने बेला उम्मेदवार भने मतदाता खोज्दै काठमाडौं पसेका छन्। प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको मनाङका कांग्रेसका तीनैजना उम्मेदवार काठमाडौं छन्। एमालेका प्रतिनिधिसभा उम्मेदवार काठमाडौं छन् भने प्रदेशसभाका उम्मेदवार काठमाडौंमा मतदातासँग भेटघाट गरी गाउँ फर्केका छन्। स्वतन्त्र उम्मेदवार पनि गाउँमै छन्। एमाले अध्यक्षसमेत रहेका प्रतिनिधिसभा उम्मेदवार पोल्देन छोपाङ गुरुङले काठमाडौंका मतदातासँग भेटघाट गरिरहेको बताए। ‘गाउँमा चिसो बढ्यो। अलि सञ्चो नहोला जस्तो पनि भयो। काठमाडौंमै छु, यहींका मतदातासँग भेटघाट गरिरहेको छु’उनले भने। एमाले प्रदेश नं ४ का सदस्य त्रिपल पी गुरुङले मतदातालाई भेटघाट गर्न पार्टीका उम्मेदवार काठमाडौंमा आएको बताए। ‘हामी आफ्ना आफन्तलाई आफ्नै तरिकाले भेटघाट गर्दैछौं। केही दिनमै हामी मनाङ जान्छौं’उनले भने। एमाले प्रदेश (क) का उम्मेदवार दोर्जे डण्डुल गुरुङ काठमाडौंमा प्रचार सकेर गाउँ फर्केका छन्। प्रदेश (ख) का स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजीव गुरुङ पनि गाउँमै छन्।

कांग्रेस सभापति समेत रहेका प्रतिनिधिसभा उम्मेदवार टेकबहादुर गुरुङले पार्टीका तिनैजना उम्मेदवार काठमाडौं रहेको बताए। ‘म झरेको सातादिन बित्यो। काठमाडौंमै घरदैलो गरिरहेका छौं’ उनले भने, ‘केही दिनमै मनाङ जान्छौं र गाउँमा प्रचारप्रसार थाल्छौं।’ काठमाडौंमा रहेका आफन्त, इष्टमित्र तथा पार्टीका ब्यक्ति र शुभचिन्तकसँग निरन्तर सम्पर्क र छलफल गरिरहेको उनले बताए। उनका साथमा कांग्रेस प्रदेश (क) का उम्मेदवार चिन्तबहादुर घले, प्रदेश (ख) का उम्मेदवार कर्म गुरुङ छन्। उनीहरुले पनि दैनिक भेटघाटका कार्यक्रम गरिरहेका छन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

मनाङका आधाआधी मतदाता काठमाडौंमै रहेको अनुमान गरिन्छ। उम्मेदवारले पनि आधाआधी मतदाता काठमाडौंमै रहेकाले काठमाडौंमै घरदैलो थालेको बताएका छन्। उनीहरुले मनोनयन दर्ता गरेपछि सवै गाउँमा एक चरणको प्रचार अभियान सञ्चालन गरिसकिएको बताएका छन्। उनीहरुको अनुसार माथिल्लो मनाङ र नारफूका प्राय ब्यापार ब्यवसायका लागि काठमाडौं छन्। मतदान गर्न उनीहरु गाउँ फर्किन्छन्।

तपाईको प्रतिक्रिया