काठमाडौं । आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख दल तालमेल गरेर चुनावी मैदानमा उत्रिएपछि कहलिएका कपितय चर्चित नेताहरू निर्वाचन क्षेत्रमा अटाएनन्। तर, तिनै दलका कतिपय नेताका भने श्रीमान् श्रीमती नै उम्मेदवार बनेर मतदातामाझ पुगेका छन्। श्रीमान् श्रीमती नै उम्मेदवार हुने दलको सूचीमा नेकपा माओवादी केन्द्र पहिलो स्थानमा छ भने प्रधानमन्त्री शेरबहादुर देउवा दम्पती नै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार छन्।कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिस्पर्धामा छन् । उनकी पत्नी आरजु राणा कैलाली–५ बाट उम्मेदवार बनेकी छन् । यसअघि उनी समानुपातिक तर्फबाट सांसद बनेकी थिइन् । पूर्वरक्षामन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँण दुवै समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा छन् । खस आर्यतर्फ खाँणको नाम एक नम्बरमा छ । मञ्जु पनि खस आर्य महिलातर्फको पाँचौं नम्बरमा छिन् । नेकपा एमालेबाट तीन दम्पती चुनावी मैदानमा छन् । पार्टी उपाध्यक्ष वामदेव गौतम बर्दिया– १ का उम्मेदवार हुन् । उनकी पत्नी तुलसी थापा एमालेको समानुपातिक सूचीमा छिन् । प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुरधाममा आयोजना गरिएको चुनावी सभामा सहभागी हुँदै ।

एमाले स्थायी समिति सदस्य शंकर पोखरेल दाङ–२ (क) बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुन् । चुनावी तालमेलका क्रममा एमालेले माओवादीलाई दाङ–२ छाड्नैपर्ने भएपछि पोखरेल मुख्यमन्त्रीको लक्ष्यसहित प्रदेशसभामा प्रतिस्पर्धामा छन् । उनकी श्रीमती सुजिता शाक्य एमालेको प्रतिनिधिसभाको समानुपातिक सूचीमा परेकी छन् । एमाले नेता शेरबहादुर तामाङ सिन्धुपाल्चोकबाट प्रदेशसभाका उम्मेदवार छन् । उनकी श्रीमती उषाकला राई पनि समानुपातिकको सूचीमा छिन् ।

नेकपा माओवादी केन्द्रबाट चार दम्पती यो पटकको निर्वाचनमा उम्मेदवार बनेका छन् । पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । पूर्वसभामुखसमेत रहेकी उनकी श्रीमती ओनसरी घर्ती मगर भने समानुपातिक सूचीमा छिन्। पूर्वगृहमन्त्री शक्ति बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्। उनकी श्रीमती सत्या पहाडी यसपटक पनि समानुपातिक सूचीमा अटेकी छिन्।

माओवादी केन्द्रका नेता देव गुरुङ दम्पती पनि यो पटकको निर्वाचनमा उम्मेदवार बनेका छन् । गुरुङ लमजुङबाट प्रतिनिधिसभातर्फ प्रत्यक्षका उम्मेदवार हुन् । उनकी पत्नी यशोदा सुवेदी गुरुङ समानुपातिकतर्फबाट उम्मेदवार छिन् । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अर्का नेता हितमान शाक्य काठमाडौं–१० बाट उम्मेदवार बनेका छन्। उनकी श्रीमती अमृता थापा मगर समानुपातिकतर्फकी उम्मेदवार छिन्।

रोल्पा ‘क’ बाट प्रदेशसभामा उम्मेदवारी दिएका माओवादी नेता कुलबहादुर केसीकी श्रीमती तारा घर्ती केसी समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सूचीमा अटेकी छन्। ठूला दल मात्रै नभएर साना दलभित्र समेत श्रीमान् श्रीमती उम्मेदवार बन्न सफल भएका छन्। नेकपा मालेका महासचिव सीपी मैनाली समानुपातिक सूचीमा बसेका छन्।

मैनालीले आफ्नी श्रीमती नीलम खड्कालाई पनि समानुपातिकको सूचीमा अटाएका छन् । दोस्रो संविधानसभामा दुवै जना समानुपातिकतर्फबाट सांसद चुनिएका थिए भने दुवै जना मन्त्रीसमेत बनेका थिए । श्रीमान् श्रीमती नै उम्मदेवार बनेकोप्रति नातावाद हाबी भएको भन्दै पार्टी पंक्तिमा भने असन्तुष्टि समेत पैदा छ। नेताहरू श्रीमतीभन्दा पनि उनीहरूको राजनीतिक योगदान र सक्रियताका कारण उम्मेदवार बनेको दाबी गर्छन्। आजको राजधानी दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया