चितवन : नवलपरासीको जटायु रेष्टुरेन्टको खोरमा राखिएका छवटा गिद्धलाई आज एक कार्यक्रमबीच प्रकृतिमा छाडिएको छ ।गत वैशाख २ गते चितवन राष्ट्रिय निकुञ्जबाट लगेर ती गिद्धहरूलाई जटायु रेष्टुरेन्टको खोरमा राखिएको थियो । वन मन्त्रालयका सचिव डा.युवकध्वज जिसी, वन विभागका महानिर्देशक मनबहादुर खड्का, उपमहानिर्देशक गोपालप्रकाश भट्टराई, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेललगायत संरक्षण क्षेत्रमा लागेका दातृ निकायका प्रतिनिधि र संरक्षणकर्मीको उपस्थितिमा ती गिद्ध प्रकृतिमा छाडिएको हो ।

सो अवसरमा वन मन्त्रालयका सचिव जिसीले विश्वमा नै पहिलो पटक नयाँ प्रयास नेपालमा थालनी भएको बताउँदै संकटापन्न अवस्थामा रहेका गिद्धको संरक्षणमा यस्ता प्रयास फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । वन विभागका महानिर्देशक खड्काले चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्ष हुर्काएर प्रकृतिमा रहेका गिद्धहरूसँग घुलमिल गराई आज छाडिएको उल्लेख गर्दै सबैको साझा प्रयासबाट यस्ता महत्वपूर्ण कामहरू सफल हुने बताउनुभयो । प्रकृतिमा भएका र छोड्नु पूर्व खोरमा राखिएका गिद्धहरूलाई सँगै खाना खुवाइदै आएको थियो । जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेष्टुरेन्टमा गरिएको थियो । सँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ ।

तिनीहरूलाई छाडिएसँगै चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा रहेका पाँच वटा गिद्धलाई पुनः सोही खोरमा लगेर राख्ने कार्यक्रम छ । हाल प्रजनन् केन्द्रमा ५७ वटा गिद्ध रहेका छन् । अति संकटापन्न अवस्थामा रहेको डंङ्गुर जातको गिद्धको संख्या बढाउनका लागि दातृ निकायको सहयोगमा सरकारले विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् । देशका विभिन्न ठाउँबाट गिद्ध संकलन गरी सन् २००८ बाट कसरामा संरक्षण गरेर हुर्काउन थालिएको हो । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरि राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुबै देशसँगै अन्य मुलुकहरुले पनि गिद्ध संरक्षणमा जोड दिन थालिएको हो ।

तपाईको प्रतिक्रिया