दाङ्ग, २३ कार्तिक । ‘हाम्रो ३ नम्बर फेरि तिमी कांग्रेसीहरुले नै लिने भयौ, दीपकजीले कमजोर उम्मेदवार पाए, भाग्यमानी रैछन्, फेरि जित्ने भए,’ एमालेका एक जना स्थानीय कार्यकर्ता भन्दै थिए । त्यसैमा माओवादी कार्यकर्ताले थपे,‘यतातिरबाट कुवेरजीले टिकट पाएको भए सहज हुन्थ्यो, हिरालाई गाह्रो छ’ उनको कुरा सकिन नपाउँदै नेपाली कांग्रेसको रुख चुनाव चिन्ह अंकित टिसर्ट लगाएका बयोबृद्ध कस्सिए, ‘जो उठे पनि केही हुन्थेन, दीपक बाबुले गरेको विकास हेर त, बाटोबाटो, पुल पुलेसा, सिंचाईको व्यवस्था हामीलाई यो भन्दा अरु के चाहियो, उनले गरेको विकासले नै उनी जितिहाल्छन्, जो जो मिले पनि ।’ ‘हुन त केन्द्रमा पहुँच भएका, हाम्रो क्षेत्रको विकासका लागि उनले नै जित्नुपर्छ,’ सबैले हँ मा हँ मिलाए । दाङ्गको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को सुदुर पश्चिमी क्षेत्र हंसपुरको एक विद्यालय नजिकैको चिया पसलमा चिया पिउँदै राजनीतिक गफमा ब्यस्त केही स्थानीयहरुको चिया गफको केही अंश हो यो । यहाँ कांग्रेस र बाम गठबन्धनबीच नै प्रतिष्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसले केन्द्रिय सदस्य एवम् पूर्व सिंचाई मन्त्री दीपक गिरीलाई चुनावी मैदानमा उतारेपछि यो क्षेत्र चर्चामा छ । गिरी यसै क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद् समेत हुन् । उनलाई चुनौति दिन बाम गठबन्धनले एमाले दाङ्गका सचिव हिराचन्द्र केसीलाई चुनावी मैदानमा उतारेको छ ।

मतदाता माझ विकासप्रेमीको छवि बनाएका कांग्रेस उम्मेदवार गिरी आफू जित्नेमा ढुक्क देखिन्छन् । ‘मैले यो क्षेत्रमा गरेको विकास र जनताको सुखदुखमा संगसंगै रहेका कारण म सबैको मन मनमा छु, जनताले मलाई नै जिताउँछन्,’ उनले आत्मविश्वासका साथ भने । ‘अब फेरि पनि जितेर बाँकि रहेका विकासे कामलाई अघि बढाउँछु’ उनले थपे । गिरीको यस क्षेत्रमा विकासे लगानी र उँचो राजनीतिक कदका कारण उनका सामु निकै कमजोर मानिएका एमाले उम्मेदवार हिराचन्द्र केसी भने स्थानीय तहको निर्वाचनमा बामपन्थीहरुले पाएको मतका आधारमा आफूु निकै अघि रहेको बताउँछन् । उनले बाम गठबन्धनलाई आफ्नो सामथ्र्य ठानेका छन् । भन्छन्,‘ बामपन्थीहरुको मत जोड्नुहोस् त, म धेरै अगाडि छु नि, फेरि स्थानीयसंग मेरो घुलमिल राम्रो छ, म सजिलै जित्छु चुनाव ।’

तर, राजनीतिमा कनिष्ठ, केही बर्ष अघि मात्रै राप्रपाबाट एमालेमा भित्रिएका, सुन व्यवसायमा बढी अभ्यस्त केसीलाई टिकट नपाएका उनकै पार्टी र माओवादीका अग्रज नेता कार्यकर्ताहरु नै तगारो बन्ने खतरा छ । कांग्रेसमा भने अहिले त्यस्तो असन्तुष्टि नरहेका कारण पनि गिरी ‘सेफ जोन’ मा देखिन्छन् । तुलसीपुर उपमहागरपालिकाका १ देखि १५ नम्बर वडा, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिका समेटेर बनेको ३ नम्बर क्षेत्र नेपाली कांग्रेसको परम्परागत गढ नै मानिन्छ । तर, स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका अधिकांश वडा जितेको कांग्रेसले टिकट वितरणमा देखिएका केही असन्तुष्टि र मजबुत् आन्तरिक एकताको अभावमा भने तुलसीपुर उपमहानगरपालिकाको मेयर–उपमेयर, दंगीशरण गाउँपालिकाको अध्यक्ष र बबई गाउँपालिका गुमाएको थियो ।

तपाईको प्रतिक्रिया