रामचन्द्र न्यौपाने

डोल्पा : दुर्गम जिल्ला डोल्पामा आसन्न संघ र प्रदेशको निर्वाचनका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका साना तथा ठूला दलका उम्मेदवार प्रतिष्पर्धात्मक हिसाबमा प्रचारप्रचारमा जुटेका हुन् ।

के गर्दैछ एमाले ?

आसन्न निर्वाचनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धन संयुक्तरुपमा चुनावी प्रचारप्रचारका लागि अहोरात्र खटिएका छन् । गठबन्धनको तर्फबाट प्रदेश क्षेत्र नं १ बाट उम्मेदवार बनेका एमालेका नन्दसिंह बुढा आफ्नै क्षेत्रमा प्रचारप्रचारमा सक्रिय हुनुहुन्छ । पहिलो पटक सांसदको टिकट पाएका बुढा एमाले जिल्ला कमिटी सचिव समेत हुनुहुन्छ । बुढाले अहिले आफ्ना कार्यकर्तासहित उपल्लो डोल्पामा भोट माग्दै घरदैलो गरिरहनुभएको छ । उहाँकै क्षेत्रमा पर्ने दुनै, जुफाल, रह, तिप्लालगायतका गाउँमा समेत घरदैलो अभियान तीव्र पारिएको डोल्पा एमालेले जनाएको छ । प्रदेश नं क्षेत्र नं १ मा पर्ने उपल्लो डोल्पा एमालेको प्रभाव क्षेत्रका रुपमा रहेकाले पनि उक्त क्षेत्रबाट एमाले जित सुनिश्चित रहेको डोल्पा एमालेको दाबी छ । उक्त क्षेत्रको उपल्लो डोल्पामा पर्ने छार्का ताङसोङ गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका र ठूलीभेरी नगरपालिकामा एमालेकै जनमत धेरै रहेकाले यस क्षेत्रबाट जित सुनिश्चित रहेको वाम गठबन्धनबाट एमालेबाट उम्मेदवार बन्नुभएका नन्दसिंह बुढाले दाबी गर्नुभयो ।

प्रचारका क्रममा डोल्पाली जनताको घरदैलोमा पुग्दा जनताले एमालेबाहेक अरु कसैलाई नचिन्ने भएकाले यसपटक गठबन्धनका तीनैजना उम्मेदवारको जित सुनिश्चित भएको उहाँको भनाइ छ । उक्त क्षेत्रमा काँगे्रस पनि बलियो प्रतिष्पर्धीको रुपमा रहेको छ, उक्त क्षेत्रबाटै उम्मेदवार बनेका बेगमसिंह ठकुरी पनि कार्यकर्तासहित चुनावी प्रचारप्रचारमा उपल्लो डोल्पातिरै हुनुहुन्छ । स्थानीय चुनावमा ठूलीभेरी नगरपालिकाको प्रमुख पदमा थोरै मतले हार व्यहोरेको काँग्रेस यस कारण पनि बलियो प्रतिपक्षको रुपमा रहेको हो । काँग्रेसबाट प्रदेशमा उठेका ठकुरी पनि नयाँ अनुहार नै हुनुहुन्छ । ठकुरीलाई जिताउन काँग्रेस जिल्ला पार्टी सभापतिसहित सयौँ कार्यकर्ता चुनावी प्रचारप्रचारमा होमिएका छन् । त्यस्तै, गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएका पूर्व सांसद धनबहादुर बुढा तीव्ररुपमा चुनावी प्रचारप्रचारमा जुट्नु भएको छ । प्र्रतिनिधि सभाका उम्मेदवार बन्नुभएका बुढाले आसन्न निर्वाचनका लागि दशैँअगावै पहिलो चरणको प्रचारप्रचार गरिसकेको एमालेको भनाइ छ । अहिले दोस्रो चरणको प्रचारप्रचारमा एमाले जुटेको हो ।

दोस्रो संविधान सभाको चुनावमा डोल्पाबाट माओवादी केन्द्र र काँग्रेसलाई हराउँदै भारी मतले विजयी हुनुभएका बुढा अहिले तल्लो डोल्पामा मत माग्दै जनताको घरदैलो गरिरहनुभएको छ ।डोल्पा एमालेमा अभिभावकको भूमिकामा रहेका बुढा सरल स्वभाव भएकै कारण धेरै जनताको मन जित्न सफल भएको स्थानीय नेता लक्ष्मी सार्कीले बताउनुभयो । प्र्रतिनिधि सभाका उम्मेदवार बुढा धन, मन, असल स्वभावका धनी नेताका रुपमा जिल्लामा परिचित हुनुहुन्छ । डोल्पाबाट एक पटक सांसद भइसकेका बुढा यसपटक पनि भारी मतले विजयी हुने एमालेको दाबी छ । यसै पनि डोल्पामा पहिलो पार्टीका रुपमा रहेको एमाले माओवादी केन्द्रको समेत साथ पाउने भएपछि ढुक्क भएर चुनावी प्रचारप्रचारमा जुटेको छ ।

के गर्दैछ काँग्रेस ?

डोल्पामा आन्तरिक विवादमा फस्दै आएको डोल्पा काँग्रेस आसन्न चुनावका लागि भने एकजुट भएर चुनावी प्रचारप्रचार कार्यलाई तीव्र पारेको छ । काँग्रेसबाट प्रतिनिधि सभाको टिकट पाउनुभएका अंगतकुमार बुढा र प्रदेश क्षेत्र नं १ का बेगमसिंह ठकुरी चुनावी प्रचारप्रचारको क्रममा उपल्लो डोल्पामा पुग्नुभएको छ ।

काँग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएका बुढाले डोल्पालाई विकास, सुशासनको बाटोतर्फ डो¥याउनका लागि अमूल्य मत दिई सहयोग गर्न डोल्पालीलाई आग्रह गर्नुभएको छ । जिल्ला पार्टी सभापतिसमेत रहनुभएका प्रतिनिधि सभाका उम्मेदवार बुढा विकासवादी, भ्रष्टाचारमुक्त समाज निर्माणमा अभियन्ताको रुपमा डोल्पामा परिचित हुनुहुन्छ । एमालेका धनबहादुर बुढा र काँग्रेसका अंगतकुमार बुढा काइके गाउँपालिकाअन्तर्गत एउटै गाउँका भएपनि राजनीतिक हिसाबमा भने वर्षौंदेखि प्रतिस्पर्धा कायमै छ । त्यस्तै, प्रदेश क्षेत्र नं २ मा उठ्नुभएका काँग्रेसका उम्मेदवार सुरेश शाही नौलो अनुहार होइन । दोस्रो संविधान सभाको चुनावमा काँग्रेसबाट प्रत्यक्ष उम्मेदवार बन्नुभएका शाही एमालेसँग पराजित हुनुभएको थियो ।

यसपटक शाही धुमधामका साथ चुनावी प्रचारप्रचारमा जुट्नुभएको छ । यसपटक क्षेत्र नं २ बाट काँग्रेसको जित सुनिश्चत भन्दै स्थानीय नेता कार्यकर्ता भोट मागिरहेका छन् । उक्त क्षेत्रबाट गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर शाही हुनुहुन्छ तर संकटकालमा माओवादीले जनतालाई दुःख दिनेदेखि आस्थाका धरोहर मन्दिरसमेत तोडफोड गरेकाले कतिपय क्षेत्रका जनताले यसकै आधारमा भोट नदिने काँग्रेसको दाबी छ । प्रदेश क्षेत्र नं २ मा स्थानीय चुनावमा र आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा पटकपटक माओवादी केन्द्र र एमालेका स्थानीय कार्यकर्ताबीच हुने गरेको विवादका कारण पनि काँग्रेसलाई फाइदा हुने नेपाली काँग्रेस डोल्पाका सचिव जयनन्द उपाध्यायले दाबी गर्नुभयो ।

स्थानीय चुनावमा त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख पदमा झिनो मतले पराजय भोग्नु भएका दिलबहादुर विष्ट काँग्रेसलाई भोट माग्दै तल्लो डोल्पामा घरदैलो अभियानमा जुट्नुभएको छ । डोल्पामा उदारवादी नेताको रुपमा परिचित विष्ट, पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्यायसहितको टोली शाहीको पक्षमा मत माग्न तल्लो डोल्पामा प्रचारप्रचारमा खटाइएको काँग्रेसले जनाएको छ ।

त्यस्तै, संघ र प्रदेशमा उठेका साना दलहरु नयाँ शक्ति पार्टीका पुष्प बुढा, नेकपा (माले)का हर्कबहादुर रोकायलगायतका विभिन्न पार्टीका उम्मेदवार पनि चुनावी प्रचारप्रचारमा अभियानमा जुटेका छन् । नेता कार्यकर्ता सबै गाउँघरतिर चुनावी प्रचारप्रचारमा जुटेपछि सदरमुकाम दुनै, त्रिपुराकोट, जुफाललगायतका स्थानीय बजार सुनसान भएका छन् ।

तपाईको प्रतिक्रिया