धनगढी। आगामी मंसिर २१ गते हुने निर्वाचनका प्रत्याशीले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाउँदा कैलाली जिल्ला निर्वाचन क्षेत्र ५ को चुनावलाई सर्वसाधारणले बढी चासोका रुपमा हेर्न थालेका छन्। यो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका नेत्री डा आरजु राणा देउवाको उम्मेदवारीसँगै यो क्षेत्रको निर्वाचनलाई सर्वसाधारणले उत्सुकतापूर्वक हेर्न थालेका हुन्।कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र) सुदूरपश्चिम ७ नम्बर प्रदेशको मुख्य व्यापारिक केन्द्रका साथै एक मात्र उपमहानगरपालिका रहेकाले पनि यो क्षेत्रको निर्वाचनलाई बढी चासोको रुपमा हेर्न थालिएको हो।चिया पसल, सार्वजनिक स्थलमा जम्मा हुने नेता तथा कार्यकर्ता आउँदो चुनावमा डा आरजुु र वाम गठबन्धनबाट प्रत्याशी बनेका नेकपा एमालेका नारदमुनि रानाको चुनावी जोड घटाउ गरेर आ–आफ्नो पक्षको जित हुने दाबी गरिरहेका देखिन्छन्।

चुनावमा राजनीतिक वाद र सिद्धान्तभन्दा योग्यता र जनताको पक्षमा काम गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई मतदाताले रुचाउने स्थानीय मतदाता रामदिन चौधरीले बताए।चुनावलाई लक्ष्य गरी नेकाँ कैलालीले चुनावी रणनीतिसहित सबै निर्वाचन क्षेत्रमा प्रचारप्रसार थालेको छ। वाम गठबन्धनले पनि सबै क्षेत्रमा चुनावी प्रचारप्रसार समिति गठन गरेर तयारीलाई तीव्र पारेको छ।विसं २०५४ को स्थानीय चुनावमा धनगढी नगरपालिकाको उपप्रमुखमा विजयी भएका नारदमुनि पहिलो संविधानसभाको चुनावमा एमालेको समानुपातिक सभासद्समेत थिए।संविधान सभामा यसअघि काँग्रेसको समानुपातिक सांसद रहनुभएका नेत्री राणा पहिलो पटक प्रत्यक्ष चुनावमा होमिएका हुन्।

दोस्रो संविधानसभाको निर्वाचनमा गृह जिल्ला डडेल्धुराका साथै कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)बाट काँग्रेस सभापति शेरबहादुर देउवा ठूलो मतान्तरले विजयी भएका थिए। पछिल्लो स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरको प्रमुखमा काँग्रेसले १४ हजार ३२४, नेकपा माओवादी केन्द्रले १० हजार २०९ र नेकपा एमालेले नौ हजार ९४६ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाएका थिए।

यो आधारमा अहिले बनाइएको वाम गठबन्धनको मत जोड्दा काँग्रेसले पाएको मत भन्दा झण्डै छ हजार मत बढी रहेको अवस्थामा मुख्य प्रतिष्पर्धा कांग्रेसका डा राणा र वाम गठबन्धनका राना थारुबीच नै हुने विश्लेषण एकथरीको छ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेको पछिल्लो राजनीतिक परिस्थिति रहेको अवस्थामा उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार हमालले पाएको मत जसले आफूतिर तान्न सक्यो उसैको पल्ला भारी हुने अर्काथरी मतदाताको विश्लेषण छ। धनगढी उपमहानगरका १९ वडा र कैलारी गाउँपालिकाका दुई वडा समेटेर बनाइएको निर्वाचन क्षेत्र ५ को मतदाता संख्या ९१ हजार ८१८ रहेको छ।

तपाईको प्रतिक्रिया