एजेन्सी- साउदी युवराज मोहमद बिन सलमानको भ्रष्टाचारविरुद्धको कारबाहीपछि पक्राउ परेका ११ साउदी राजकुमार, सरकारका मन्त्री र उच्च तहका व्यापारीहरू सुविधासम्पन्न पाँचतले होटेलको एउटा कोठामा कोचिएर बसेका छन् । साउदी अरबको आधुनिक इतिहासमा अहिलेसम्मकै ठूलो भ्रष्टाचारविरुद्धको कारबाहीमा उनीहरू यसै साता पक्राउ परेका थिए । आरोपितहरू राजधानी रियादको रिज कार्लटन होटेलको कोठाको भुइँमा एउटा पातलो म्याट्रेसमा ब्ल्यांकेट ओढेर लामबद्ध सुतेको तस्बिर सार्वजनिक भएको छ । उनीहरू आफ्नो जीवनमा नै पहिलोपटक यस्तो दयनीय अवस्थामा भेटिएको तस्बिर सार्वजनिक भएको छ ।

कैद हुनेमा राजा सलमानका भतिजा तथा अर्बपति राजकुमार अल वालेद बिन तलाल पनि छन् । १८ अर्ब डलर सम्पत्तिका मालिक तलालका विभिन्न बहुराष्ट्रिय कम्पनीहरूमा लगानी छ । युवराजको कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरिरहेकै वेला अर्बपति राजकुमारहरू दयनीय अवस्थामा रहेको तस्बिर सार्वजनिक भएको छ ।

जापान भ्रमण पूरा गरी दक्षिण कोरियाका लागि प्रस्थान गर्नुअघि ट्रम्पले ट्विट गरेका थिए, ‘मलाई साउदी राजा सलमान र युवराजप्रति पूर्ण विश्वास छ । राजकुमार, मन्त्री र अन्य अधिकारीहरूमाथि भएका कारबाहीबारे राजालाई राम्रो ज्ञान छ । कारबाही गरिएकामध्ये धेरैले वर्षौंदेखि आफ्नो देशलाई चुसिरहेका थिए ।’ पक्राउ परेका राजकुमारमध्ये अल वालिद ट्रम्पको खरो आलोचक हुन् । अमेरिकी राष्ट्रपति निर्वाचन अभियानमा वालिदले ट्रम्पको चर्को आलोचना गरेका थिए । पातलो म्याट्रेसमा सुतेको तस्बिरले दरबारमा राजकुमारहरूको दबदबा अब बिस्तारै घटेको देखिन्छ । उनीहरूलाई सो होटेलमा दयनीय अवस्थामा रहेको तस्बिरलाई डेलीमेलले मंगलबार सार्वजनिक गरेको थियो ।

उनीहरूलाई राखिएको हलमा गत वर्ष लगानीसम्बन्धी बृहत् सम्मेलन आयोजना गरिएको थियो, जहाँ विश्वका व्यापारी नेताहरू सहभागी भएका थिए । सो अवसरमा युवराज मोहमदले साउदी अरबलाई आधुनिक मुस्लिम राज्यमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सम्मेलनमा अहिले पक्राउ परेका राजकुमार र मन्त्रीहरू पनि उपस्थित थिए । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरेबियाको भ्रमण गर्दा पनि सोही होटेलमा युवराजसँग भेट गरेका थिए । नयाँ पत्रिकाले छापेको छ ।

गत साता पक्राउ पर्नेमा राजकुमार मितेब बिन अब्दुल्लाह पनि छन्, जो चार वर्षदेखि नेसनल गार्ड मन्त्री थिए । त्यस्तै, पक्राउ पर्ने अर्का राजकुमार अदेल फेकिह अर्थमन्त्री थिए । यसैबीच, पक्राउ परेका व्यक्तिको स्थानमा साउदी राजाले नयाँ अधिकारी चयन गरेका छन् ।

तपाईको प्रतिक्रिया