काठमाडौँ । – माओवादी नेता कृष्णबहादुर महरा यसपटक रोल्पाबाट उम्मेदवार बन्न चाहन्थे । बाधक बने अर्का नेता वर्षमान पुन । उनले महराको योजना सफल हुन दिएनन् । बाध्य भएर दाङको क्षेत्र न‌ं. मा २ झरे, महरा । उनले चुनाव प्रचार थालिसके । तर, रोल्पालाई अझै पनि पहिलो प्राथमिकतामा राखेको संकेत दिइरहेकै छन् । उनी आफ्नो चुनावी क्षेत्र दाङ छोडेर सोमबार लिबाङ पुगे ।

रोल्पा नगरपालिका–१ मेबाङस्थित आफ्नो पुरानो घरबास रहेको ठाउँमा स्थापित टेक्निकल कलेज उद्घाटन कार्यक्रमको बहाना बनाएर उनी आफू यही रहेको सन्देश दिन आएका थिए । उनले भाषणमा पटकपटक आफुले रोल्पा नछोडेको अभिव्यक्ति दिइरहे । ‘म दाङबाट चुनाव लड्न थाले पनि रोल्पा छोडेको छैन । यही छु । मलाई यही भएको ठान्नुस्,’ उनले भने, ‘म यहीकै विकासमा क्रियाशील छु । चुनाव उताबाट लड्ने कुराले केही फरक पार्दैन ।’

उनले दाङबाट चुनाव लड्नु बाध्यता भएको भाव व्यक्त गरे । लिबाङमा आयोजित पत्रकार भेटघाटमा भने पुन पनि सहभागी भए । यो खबरलाई आजको कान्तिपुर दैनिकले लेखेको छ, पुनको छेउमा पनि महराले आफू रोल्पामै रहेको दोहोर्‍याए । कलेज उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता महरालाई फूलमालासहित स्वागत गर्न लामबद्ध भए । एक किलोमिटरको दूरी पर्ने लिबाङ बजारमा रहेका पुन उक्त कार्यक्रममा गएनन् ।

तपाईको प्रतिक्रिया