काठमाडौँ । राजनीतिक दलहरूले घोषणापत्रमा उल्लेख गरेका सामाजिक सुरक्षा भत्ता वृद्धि लगायतका योजनालाई सस्तो लोकप्रियता मात्र नबनाउन ज्येष्ठ नागरिकका अगुवाले राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस र वाम गठबन्धनको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरी मासिक पाँच हजार रुपियाँ पु¥याउने लगायतका अन्य सामाजिक सुरक्षाका योजना उल्लेख छ ।

दलका नेता सरकारमा गएपछि घोषणापत्रमा समावेश सामाजिक सुरक्षा योजनालाई व्यवहारमा कार्यान्वयन गर्न अडिग हुनुपर्ने ज्येष्ठ नागरिकका अगुवाहरूले बताउनुभयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सदस्यसचिव जयप्रकाश केरुङले दलहरूले निर्वाचनका क्रममा मत प्रभावित गर्नका लागि मात्र घोषणापत्रमा सामाजिक सुरक्षाका योजना समावेश गरेको भए त्यो विडम्बना हुने बताउनुभयो ।

दलहरूले घोषणापत्रमा समावेश गरेका सामाजिक सुरक्षाका योजना व्यवहारमा कार्यान्वयन गरे त्यसले ज्येष्ठ नागरिकलाई तत्कालका लागि राहत हुने उहाँले बताउनुभयो ।

ज्येष्ठ नागरिक सेवा समाज नेपाल काठमाडौँ शाखाका अध्यक्ष शिवशङ्कर पौडेल राजनीतिक दलले आफ्ना घोषणापत्रमा समावेश गरेका कुरा प्रतिबद्ध भएर कार्यान्वयन गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।

अग्रज समाज नेपालका सहअध्यक्ष नयन्द्र खड्का ज्येष्ठ नागरिकलाई मासिक पाँच हजार रुपियाँ दिनुपर्छ भनेर विगत पाँच वर्षदेखि अग्रज समाज नेपालले सडक सङ्घर्ष गर्दै आएको र ढिलै भए पनि दलहरूले आफ्नो घोषणापत्रमा सो कुरा उल्लेख गर्नु सकारात्मक भएको बताउनुभयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सचिव मनोहर उप्रेती दलहरूले आश्वासन दिनका लागि मात्र नभई राज्यको कोषले धान्नसक्ने गरी मात्र सामाजिक सुरक्षाका योजना घोषणापत्रमा समावेश गर्नुपर्ने बताउनुभयो ।

सस्तो लोकप्रियताका लागि मात्र घोषणापत्रमा सामाजिक सुरक्षाका योजना समावेश गर्दा त्यसको सन्देश सकारात्मक नहुने उप्रेतीको भनाइ छ । गोरखापत्र

तपाईको प्रतिक्रिया