कञ्चनपुर – काँग्रेस नेता रमेश लेखकले कञ्चनपुर क्षेत्र नं ३ बाट चौथो पटक सांसद बन्न मनोनयन दर्ता गरेपछि भन्नुभयो, “वाम गठबन्धनका कारण हार्ने कुरा हुँदैन, टिमसहित जित्छौँ ।” विसं २०५६ को आम निर्वाचन जित्नुभएका नेता लेखक विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा विजयी हुनुभएको थियो । काँग्रेसले त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवार बनाएकामा उहाँ झिनो मत अन्तरले विजयी हुनुभएको थियो । अहिले फेरि चौथो पटक सांसद बन्ने लक्ष्यसहित उम्मेदवार लेखक चुनावी मैदानमा हुनुहुन्छ । वाम गठबन्धनले यस क्षेत्रमा एमालेका विदेश विभाग सदस्य डा दीपकप्रकाश भट्टलाई प्रतिस्पर्धी बनाएको छ ।

स्थानीय चुनावमा ३० वटै वडाका अध्यक्षले पाएको मतका आधारमा काँग्रेस वाम गठबन्धनभन्दा निकै कमजोर छ । गठबन्धन काँग्रेसभन्दा १० हजार १०६ मतले अगाडि छ । स्थानीय चुनावमा वाम गठबन्धनको २६ हजार १८३ र काँग्रेसको १६ हजार ७७ मत छ । काँग्रेस उम्मेदवार लेखकले गठबन्धनको मत तान्ने र गठबन्धन उम्मेदवार भट्टले आफ्नो मत जोगाउने रणनीति बनाउनुभएको छ । काँग्रेसका क्षेत्रीय प्रवक्ता अफीलाल जोशीले भने संघ र प्रदेशको चुनाव स्थानीय जस्तो नहुने भएकाले लेखक नै जित्ने दाबी गर्नुभयो । यो चुनावलाई स्थानीयसित आँकलन गर्न मिल्दैन उहाँले भन्नुभयो “हामी जित्छौँ ।” एमाले उम्मेदवार डा भट्टले भने वाम गठबन्धनले नै जित्ने बताउनुभयो । यहाँ गुलियो र मीठो कुरा गरी जनतालाई धेरै वर्षदेखि भ्रममा राखिएको छ, यस पटक त्यस्तो हुने छैन उहाँले भन्नुभयो, “गठबन्धनका सबै उम्मेदवारले जित्नेछन् ।”

तपाईको प्रतिक्रिया