काठमाडौँ । पानामा पेपर्स काण्डको एक वर्षपछि अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ।आइतबार सार्वजनिक ‘प्याराडाइज पेपर्स’ नामक विवरणमा बेलायती महारानी एलिजाबेथ द्वितीयसहित विश्वका धेरै राष्ट्रप्रमुख, पूर्वप्रमुख, राजनीतिज्ञ, कलाकार र खेलाडीका अतिरिक्त विश्वका ठूला कम्पनीले ट्याक्स हेभेनमा सम्पत्ति लुकाएको खुलासा भएको हो। गत वर्ष सार्वजनिक भएको यस्तै प्रकृतिको विवरण पानामा पेपर्सले पनि विश्वका विभिन्न राष्ट्रका प्रमुख, राजनीतिक दलका नेता तथा व्यापारीलाई विवादमा तानेको थियो। पानामा पेपरमा मुछिएका तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई गत जुलाईमा सर्वोच्च अदालतले दोषी ठहर गरी अपदस्थसमेत गरेको थियो।

को–को तानिए प्याराडाइज पेपर्समा ? बेलायती महारानी एलिजाबेथ द्वितीया, कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोस र लाइबेरियाका राष्ट्रपति एलेन जोन्सन गरी तीनजना राष्ट्रप्रमुखले ट्याक्स हेभेनमा सम्पत्ति लुकाएको खुलेको छ। महारानी एलिजाबेथ द्वितीयाले मेडिकल र उपभोक्तालाई ऋण दिने कम्पनीमा दशौँलाख डलर लगानी गरेको खुलेको छ। जोर्डनकी रानी नूर अलहुसैन, कोस्टारिकाका पूर्वराष्ट्रपति जोसे मारिया फिगरेर्स पनि सोही मुद्दामा तानिएका छन्।यसैगरी, पाकिस्तानी पूर्वप्रधानमन्त्री सौकात अजिज, अस्ट्रियाका पूर्वचान्सलर अल्फ्रेड गुसेन्बर, जर्मनीका पूर्वचान्सलर गर्हार्ड र जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामा पनि प्याराडाइज पेपर्सको मुद्दामा मुछिएका छन्। सबैभन्दा धेरै क्यानडाका तीनजना पूर्वप्रधानमन्त्रीहरू जिन क्रेटिअन, पाउल मार्टिन, ब्रिआन मुल्रोनी पनि प्याराडाइज पेपरको मुद्दाले विवादित बनेका छन्।सन् २००४ मा अमेरिकाको राष्ट्रपतिका उम्मेदवार वेस्ली क्लार्क, रुसका लागि अमेरिकाका राजदूत जोन हन्टस्म्यान, अमेरिकी केन्द्रीय बैंकमा अनुगमन शाखाका उपाध्याक्ष रान्डल क्वार्लस पनि तानिएका छन्। क्यानडा, घाना, इन्डोनेसिया, जोर्डनका केही नेता तथा सरकारी अधिकारीहरूका आफन्तसमेत सो मुद्दामा मुछिएका छन्। भारत सरकारका उड्ययनमन्त्री जयन्त सिन्हा र भारतीय जनता पार्टीका राज्यसभाका सांसद रवीन्द्रकिशोर सिन्हा पनि यो मुद्दामा गाँसिएको भारतीय समाचार संस्था इन्डियन एक्स्प्रेसले जानकारी दिएको छ।

प्याराडाइज पेपर्सले खुलायो ट्रम्प-पुटिन व्यापारिक सम्बन्ध यो काण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच व्यापारिक सम्बन्ध खुलाएको छ। ट्रम्पका खर्बपति वाणिज्यमन्त्री तथा प्राइभेट इक्विटी टाइकुन विल्बर रोसको सिपिङ कम्पनीले पुटिनका ज्वाइँको ऊर्जा कम्पनीबाट सन् २०१४ पछि करिब ७ अर्ब नेपाली रुपैयाँबराबर आम्दानी गरेको खुलासा प्याराडाइज पेपर्सले गरेको हो। त्यस्तै, ट्रम्पका १ दर्जनभन्दा बढी मन्त्रीहरू, सल्लाहकारहरू र दाताहरूले ट्याक्स हेभेनमा सम्पत्ति लुकाउने र कर छली गर्ने गरेको पनि खुलेको छ। तिनमा विदेशमन्त्री रेक्स टिलरसन, वाणिज्यमन्त्री रोसलगायत छन्।

विश्वका ठूला कम्पनी कर छलीमा विश्वकै ठूला बहुराष्ट्रिय कम्पनीहरू एप्पल, माइक्रोसफ्ट, फेसबुक, इ–बे, ग्लेनकोर, युबर, नाइक, वालमार्ट, एलियान्ज, सिमेन्स, म्याक डोनाल्ड र याहुले पनि कर छली गरेको सो विवरणमा उल्लेख छ। तर, एप्पल, नाइक र फेसबुकले भने कर छली गरेको मुद्दा अस्वीकार गरेको ‘द एक्सप्रेस ट्रिब्युन’ ले जानकारी दिएको छ। यसैगरी, भारतीय विद्युतीय उपकरण निर्माण कम्पनी भिडियोकन, युनाइटेड स्पिरिटस् जिन्दल स्टिल तथा पावर कम्पनीलगायत एपोलो टायर पनि सो सूचीमा समावेश छन्। भारतीय कलाकार अमिताभ बच्चन, मान्यता दत्त, अमेरिकी गायिका म्याडोनालाई पनि प्याराडाइज पेपर्सले कर छली गर्नेको सूचीमा समेटेको छ।बर्मुडा, क्यामन आइल्यान्ड, ब्रिटिस भर्जिन आइल्यान्डजस्ता स्थानमा कर छली गरिएको रकम लगानी हुने गरेको छ। फ्रान्सेली अर्थशास्त्री ग्याबरियल जुकम्यानले कर छली गरी ट्याक्स हेभेनमा लगानी गरिएकाले विश्वमा आर्थिक असमानता वृद्धि हुने टिप्पणी गरेका छन्। ‘विश्वमा आर्थिक असमानता जति वृद्धि हुँदै जान्छ, त्यति नै बढी कर छली गरी अफसोरमा लगानी गर्ने क्रम पनि बढ्दै गएको देखिन्छ,’ उनले भने।

कुल एक करोड ३४ लाखभन्दा बढी फाइल भएको प्याराडाइज पेपर्समा १ दशमलव ४ टेराबाइट डेटा छ। यो विवरण हालसम्मकै दोस्रो ठूलो विवरण हो । गत वर्ष सार्वजनिक भएको पानामा पेपर्सको स्टोरेज स्पेस करिब २ दशमलव ६ टेराबाइट रहेको थियो। सन् २०१३ मा सार्वजनिक भएको अफसोर सेक्रेटस् २०१३ तेस्रो, सन् २०१४ को लक्जेम्बर्ग ट्याक्स फाइल्स तेस्रो, सन् २०१५ मा एचएसबिसी फाइल्स तेस्रो र २०१० को विकिलिक्स सार्वजनिक भएका क्रमशः तेस्रो चौथो र पाँचौँ ठूला विवरण हुन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

के हो प्याराडाइज पेपर ? तीन सय असीभन्दा बढी पत्रकारहरूको समूहले करिब एक वर्ष लगाएर अफसोर कम्पनीमा लगानीको तथ्यांक अध्ययन गरी सार्वजनिक गरिएको विवरण प्याराडाइज पेपर्स हो । सो विवरणमा ७० वर्षका डकुमेन्टहरू समावेश गरिएका छन् । समाचार संस्थाहरू बिबिसी, द गार्जियन र न्युयोर्क टाइम्सलगायतका राष्ट्रका करिब एक सय समाचार एजेन्सीहरूको सहभागितामा आइसिआइजेले करिब १ करोड ३४ लाख कर छलीका फाइलहरू अफसोरमा लगानी भएको आइतबार सार्वजनिक गरेको छ। विश्वका करिब १ लाख २० हजार व्यक्ति तथा व्यावसायिक कम्पनीले १९ ट्याक्स हेभेन मुलुकमा गरेको लगानी विवरणमा समेटिएको छ। कर छुट र आयको स्रोत खुलाउनुनपर्ने भएकाले ट्याक्स हेभेन मुलुकमा अफसोर कम्पनीमा ठूलो रकम लगानी हुने गरेको छ।

तपाईको प्रतिक्रिया