काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले वाम गठबन्धनको भावना र मर्मअनुसार चुनावी प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ। माओवादी केन्द्रको जिल्ला संगठन समिति काठमाडौँको साेमबार बसेको बैठकले राष्ट्रिय आवश्यकताअनुसार वाम तालमेल र पार्टी एकताको समेत निर्णय भएकाले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनलाई सफल बनाउन र वामगठबन्धनलाई जिताउन लागिपर्ने निर्णय गरेको हो। सो पार्टीका काठमाडौँ जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले कुनै पनि शर्तमा वाम गठबन्धन विजयी हुनुपर्छ भन्ने मान्यतालाई प्रत्येक नेता तथा कार्यकर्ताले आत्मसात् गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए।

गठबन्धनमा सहभागी नेकपा(एमाले)सँगको छलफलपछि एकीकृत र केन्द्रीतकृत चुनाव परिचालन समिति गठन गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए। काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये तीन वटामा माओवादी केन्द्र र सात वटामा एमालेले उम्मेदवारी दिएका छन्। बैठकमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिनुभएका काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्मा, क्षेत्र नं ६ का उम्मेदवार झक्कुप्रसाद सुवेदी र क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्यले चुनावी योजना पेश गर्दै पार्टी र गठबन्धनलाई विजयी गराउन आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया