बेइजिङ, चीन, २० कात्तिक – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही बुधबारदेखि तीन दिनसम्म चीनको राजकीय भ्रमण गर्नुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनुहुन्छ ।

अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले भन्नुभयो, “हामीसँग राजकीय भ्रमणका लागि आवश्यक सबै छ, तर हामी त्यो भन्दा अझ बढी चाहन्छौँ ।”

रातो कार्पेट समारोह, औपचारिक भेटवार्ता, भोजबाहेक चिनियाँ राष्ट्रपति सी चिन पिङ र उहाँका अमेरिकी समकक्षीबीच केही अनौपचारिक विचार विमर्शसमेत हुनेछन्, चिनियाँ उपविदेशमन्त्री झेङ झेगुवाङले भन्नुभयो ।

अनौपचारिक कार्यक्रमको व्यवस्थापनबारे सूची सार्वजनिक नगरिकनै कुईले भन्नुभयो, “ट्रम्प र प्रथम महिलालाई चिनियाँ इतिहास, संस्कृति र जनताबारे जानकारी गराउन ‘केही विशेष तयारी’ रहेको छ ।” “ट्रम्पको चीन बसाईका क्रममा दुई मुलुकको विकास र आपसीसम्बन्ध विस्तारका लागि अति महत्वपूर्ण उच्च तहको रणनीतिक छलफलका लागि प्रशस्त समय मिलाइएको छ,”उहाँले थप्नुभयो । शक्तिशाली मुलुकका यि दुई राष्ट्रपतिले अमेरिकाको फ्लोरिडामा गत अप्रिलमा सातघण्टा लामा वार्तालाप गरेका थिए ।

अनौपचारिक कुराकानीको तयारीले दुई नेताबीचको व्यक्तिगत मित्रता र काम गर्नको लागि राम्रो वातावरण मिलाउने चाइना इन्स्टिच्युट अफ कन्टेम्पोरेरी इन्टरनेशनल रिलेसन, अमेरिकी अध्ययन विभागका निर्देशक दा वेइले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङमा रहँदा चीन र अमेरिकाबीचको व्यापारिक सहकार्य र कोरियाली प्रायदीपमा देखिएको सुरक्षा चासोका बिषयमा कुरा गर्नुहुनेछ ।

स्वस्थ आर्थिक तथा व्यापारिक सम्बन्ध दुईमुलुकबीचको सुमधुर सम्बन्धको आधार रहने चीनले जनाएको छ । अमेरिका र चीनबीच सन् १९७९ मा २.५ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०१६ मा पाँच खर्ब २० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको, चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिकासँग रहेको असन्तुलित व्यापारको समाधान चिनियाँ सामानको आयातलाई अमेरिकामा कडाइ गर्नुभन्दा अमेरिकाद्वारा थप सामान चीनतर्फ निर्यात गर्ने र दुईतर्फको लगानीलाई बढाउनुपर्ने झेङले जनाउनुभयो ।

“विश्वका दुई शक्तिशाली अर्थतन्त्रकाबीच आर्थिक सम्बन्ध परस्पर फलदायी रहेको छ र रहनुपर्छ,” राजदूत कुईले भन्नुभयो । “चीनले सधै कोरियाली प्रायदीपमा आणविक निशस्त्रीकरणको पक्षमा आफ्नो मत राख्दै आएको र यसलाई वार्ताद्वारा समाधान गर्नुपर्छ,” झेङले बताउनुभयो । सी र ट्रम्पको गत अप्रिलमा भएको सय दिने आर्थिक सहकार्य बढाउने कार्य योजना अनुसार गत जुलाईमा अमेरिकी गाईको मासुलाई चिनियाँ बजारमा खुला गर्ने सम्झौतापछि अमेरिकी गाईको मासु चिनियाँ बजारमा सुलभ भएको छ । चार उच्चस्तरीय वार्ता संयन्त्रले कल्पना गरेबमोजिम कुटनीति र सुरक्षा, अर्थतन्त्र, साइबर सुरक्षा र सामाजिक तथा जनता–जनताबीचको आदानप्रदानबाट आपसी सहकार्यमा प्रगति भएको बताइन्छ ।

ट्रम्पको साथ अमेरिकी बाणिज्यमन्त्री विल्बर रोसले व्यापारिक प्रतिनिधिमण्डल पनि आउने चीनको अपेक्षा छ ।

चीन–अमेरिका सम्बन्ध नयाँ युगमा

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ सम्मेलनपछि हुनलागेको अमेरिकी राष्ट्रपतिको भ्रमण दुईदेशको परस्पर फाइदाका लागि हुनेछ अर्थात् दुवैको जीतको रणनीतिक शुरुवातका लागि हुनेछ ।

“भर्खरै सकिएको चिनियाँ कँग्रेसले चीनको आगामी कुटनीतिको रूपरेखा तयार गरेको छ,” चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका जिउदोङले बताउनुभयो ।

चीन–अमेरिका सम्बन्ध अन्तर्राष्ट्रिय सम्बन्ध र मानवताका लागि समुदायको साझा भविष्यका लागि निर्णायक रहेको जिदोङले जोड दिनुभयो । ट्रम्पले वासिङ्टनको नेतृत्व सम्हालेपछि दुवै नेताबीच निकटको सम्बन्ध स्थापित भएको छ ।

तपाईको प्रतिक्रिया