अधिवक्ता सुजित के.सी ताजा खबर:-कुनै पनि राजनितिक दल सरकारमा जानु वा प्रतिपक्षमा बस्नु यी दुवै स्वभाविक राजनितिक कार्य हो । सरकारमा गएर पनि जनहितका कार्य नगरे मात्र गलत ठहर्छ । राप्रपा नेपालको २०७० पछि नेपालको चौथो राजनितिक शक्तिको रुपमा उदय भयो । विभिन्न उत्तारचढावसँगै राप्रपा नेपाल र राप्रपाको पार्टी एकीकरण समेत भयो तर पनि स्थानीय निर्वाचनमा राप्रपाले अपेक्षा भन्दा धेरै नराम्रो परिणाम भोग्नु प¥यो । तर पनि पार्टी र नेतृत्वले पार्टीको विचार र सिद्धान्तलाई कहिले समाप्त हुन दिएनन् । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको एजेण्डाप्रति पार्टी र नेतृत्व सधै प्रतिबद्ध रयो । पार्टी विभाजनले पनि यी एजेण्डाबाट पार्टीलाई विचलित पार्न सकेन् । सरकारमा हुँदा र सरकारमा नहुँदा राप्रपाले गरेका कार्य सधै जनहित र राष्ट्रिय हितमा मात्र समर्पित थिए ।

राप्रपाले सरकारमा बस्दा गरेको केही कार्यले राष्ट्रको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान समेतको रक्षा भएको छ । समाजिक सुरक्षा र धर्म संस्कृति रक्षाको निमित्त समेत उल्लेखनीय कार्य भएका छन् । राप्रपा अध्यक्ष, तत्कालीन उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले संयुक्त राष्ट्र संघको जेनेभामा भएको बैठकमा ईन्डियाले लगाएको नाकाबन्दीको विषयमा खुलेर विरोध गरि राष्ट्रियता र स्वाभिमानको पक्षमा विचार व्यक्त गर्नु भएको थियो । नाकाबन्दीका कारण चरम मानव संकट र उर्जा संकटले देश आक्रान्त भएको बेलामा उहाँको पहल र सहजीकरणबाट नाकावन्दी असफल भएको थियो । स्थानीय विकास मन्त्रालयको समेत जिम्मेवारी समालेका तत्कालीन उपप्रधानमन्त्री थापाले स्थानीय विकास मन्त्रालयबाट सबै स्थानी निकायको बजेट दोब्बर बढाउने र सबै नगरपालिकमा सडक बत्तीको अवधारणा सुरु गराएका थिए । साथै स्थानीय मन्त्रालयबाट वृद्ध भत्ता मासिक १ हजारबाट ३ हजार बनाउन प्रस्ताव गरिएकोमा मासिक क्याबिनेटबाट २ हजार प्रदान गर्ने गरी पास भएको थियो । मानव अधिकारको झुठो मुद्दामा बेलायतमा थुनामा रहेका कर्नेल कुमार लामालाई समेत छुटाउन थापा सफल भए ।

त्यतिखेर तराईका जिल्लाहरुलाई लक्षित गरि त्यहाँको जनताको सामाजिक स्तर उकास्न सिमा क्षेत्र विकास कार्यक्रम संचालनको सुरुवात र व्यवस्थित बसोवास आयोग गठन गराउने कार्य समेत भएको थियो । त्यस्तै राप्रपाको मुल निति सर्व धर्म सम भावलाई समेत दृष्टिगत गर्दै लोभ प्रलोभनमा गराईने धर्म परिवर्तनलाई पूर्ण रुपमा निषेध गर्न र धर्म परिवर्तन गराउनेलाई कारवाही गर्ने निर्देशन स्थानीय निकायलाई दिने कार्य भएको थियो । उक्त निर्देशनका कारण गाऊँ गाऊँमा गरिब र अशिक्षित नेपालीलाई लोभ र प्रलोभनमा पारी गराईने धर्म परिवर्तनमा निकै कमि आएको थियो । हिन्दु राष्ट्र नेपाल बनाउनु पर्छ भन्ने धेरै नेपाली उत्साहित समेत भएका थिए । राप्रपाकै सकृयता र दबाबका कारण आज धर्म परिवर्तनलाई नेपालमा पूर्ण रुपमा गैरकानुनी मानिन्छ । आज नेपालको कानुनले समेत धर्म परिवर्तनलाई निषेध गरेको छ ।

परराष्ट्र मन्त्रीको हैसियतले थापाले नै पहिलो पटक चीनसँग पारवाहन, व्यापार, तेल, रेल बिजुली सम्बन्धि ऐतिहासिक अवधारणाको निर्माण र कार्यान्वनको अग्रसरता गर्ने र व्यापार सम्झौता गर्ने कार्य सम्पन्न गराएका थिए । त्यस्तै स्थानिय तह शासन संचालन विधेयक निर्माणमा योगदान गर्ने काम समेत भयो । आज स्थानीय निकायलाई अधिकार सम्पन्न कसले बनायो होला भन्ने तथ्य धेरैलाई जानकारी समेत छैन् । सरकारमा रहँदा होस वा प्रतिपक्षमा रहदा राप्रपाले धर्म सापेक्षता, राष्ट्रियता र हिन्दुत्वको संरक्षण र सम्बद्र्धनका निमित्त निरन्तर सकारात्मक र रचनात्मक कार्यहरु गर्दै आएको छ । लोकतन्त्र र बहुदलिय व्यवस्थामा प्रतिबद्ध राप्रपाको विचार तथा सिद्धान्त आज देशमा एक मात्र त्यस्तो विकल्प हो जसले धर्म, राष्ट्रियता र प्रजातन्त्र समेतको रक्षा गर्ने मार्ग चित्र प्रदान गरेको छ । नेपालको भूराजनितिक सुहाउदो राजनितिक व्यवस्था दिएको छ । वर्तमान अवस्थामा समेत राप्रपाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । लोकतन्त्र नै संकटमा परेको अवस्थामा चुनावको सुनिश्चितताका लागि बाध्यात्मक रुपमा सरकारमा सहभागिता समेत जनाएको छ । सरकारमा जानु राप्रपाको निति नभएता पनि समय र परिस्थितिले गर्दा राष्ट्रिय हितका लागि सरकारमा सहभागि भएको सबैले बुझ्न जरुरी छ ।

तपाईको प्रतिक्रिया