काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव फेरी एक पटक अप्ठ्यारोमा परेका छन् । डा. यादव आफ्ना कारण नभई सरकारका कारण फेरी एक पटक समाचारमा छाएका हुन् । कारण हो उनी लामो समयदेखि बस्दै आएको घरका घरधनीले घर खाली गर्न १५ दिनको अल्टिमेटम दिएपछि डा यादव अप्ठ्यारोमा परेका हुन् । ललितपुर महानगरपालिका–४ बागडोल बस्दै आएका यादवलाई घरधनी रविभक्त विष्टले घर खाली गरिदिन सोमबार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरेका छन् । सूचनामा गत साउन १ गतेदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण नगरेको, घर बहाल र बिजुली महसुलसमेत नतिरी जबर्जस्ती बस्ने बसाउने कार्य भइरहेको उल्लेख गर्दै उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको पत्रिकामा प्रकाशित सूचनामा उल्लेख छ । पूर्वराष्ट्रपति लगायतका भिआइपीहरुको आवास खर्च सरकारले नै बेहोर्ने व्यवस्था भएपनि सरकारले महत्वपूर्ण विषयमा ब्यवास्ता गर्दा समस्या निम्तिएको हो ।

तपाईको प्रतिक्रिया