काठमाडौं – कांग्रेसले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर उठेको महोत्तरी ३ मा आफ्नो पार्टीको उम्मेदवारलाई फिर्ता बोलाएको छ । कांग्रेस उम्मेदवार बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी दर्ताअघि तालमेल नभए पनि कांग्रेसले केन्द्रीय निर्णयअनुसार नै महोत्तरी ३ बाट आफ्ना उम्मेदवार फिर्ता गराउँदै ठाकुरलाई सहज बनाइदिएको हो ।

फिर्ता बोलाइएका नेपालीको नाम पहिले प्रदेश सभामा राखिए पनि पछि प्रतिनिधिसभामा लगिएको थियो । कांग्रेस नेता विमलेन्द्र निधिले नेपालीको उम्मेदवार फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसँग छलफल गरी वातावरण बनाएका हुन् ।

उपेन्द्रलाई पनि सहयोग

कांग्रेसले सप्तरी २ मा पार्टी उम्मेदवार सुकदेव सुतिहारको उम्मेदवारी फिर्ता गराउने तयारी गरेको छ । संघीय समाजवादी फोरमसँग तालमेल हुन नसके पनि आफ्ना उम्मेदवार फिर्ता गराउन कांग्रेस सहमतिनजिक पुगेको हो । ‘फिर्ता भइसकेको छैन । तर, सोमबारसम्म फिर्ता गरेर फोरमलाई कांग्रेसले सहयोग गर्ने कुराकानी भइरहेको छ,’ कांग्रेस नेता तेजुलाल चौधरीले नयाँ पत्रिकासँग भने । नयाँ पत्रिकाले छापेको छ ।

३३० प्रदेश सभामा केन्द्रीय नेता पुग्ने

निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि ३३० वटै प्रदेश सभामा केन्द्रीय नेता प्रचारका लागि पुग्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा नेता खाँडले चुनावी प्रचारका लागि प्रदेश मात्र नभएर प्रदेश सभामै केन्द्रीय नेताले सभासहितका कार्यक्रममा भाग लिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया