काठमाडौँ । अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित १५ गते राजधानीमा दुई भारतीय पक्राउ परेको भोलिपल्टै पोखराबाट पनि तीन जना भारतीय नै पक्राउ परे। पोखरामा पक्राउ परेका उनीहरू भारतमा हत्या, अपहरण र असुलीमा विभिन्न मुद्दा खेपिरहेका व्यक्ति भएको प्रहरीको भनाइ छ।

राजधानीको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ज्याक डेनिस डान्स बारमा गोली चलाएपछि भारत लुधियानाका जसवीर सिंह र देवेन्द्र सिंह पक्राउ परेका थिए । प्रहरीले उनीहरूबाट अटोमेटेड पेस्तोल, ५१ थान ७ दशमलव ६५ एमएमको गोली र ७५ हजार भारु बरामद गरेको थियो।

स्रोतका अनुसार पोखराबाट पक्राउ परेका भारतीयविरुद्ध भारतको राजस्थान प्रहरीमा थुप्रै मुद्दा छन्।

राजस्थान प्रहरीकै सूचनाका आधारमा उनीहरू पोखराबाट पक्राउ परेका थिए। काठमाडौंबाट पक्राउ परेका दुई भारतीय भने कुन उद्देश्यले त्यत्ति धेरै गोलीसहित नेपाल छिरेका थिए भन्नेबारे प्रहरीले खुलासा गरेको छैन। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

चुनावका बेला हतियारसहित र हतियाररहित भारतीय अपराधी धमाधम पक्राउको घटनाले सुरक्षा निकायको नेतृत्व तहलाई नै गम्भीर बनाइदिएको छ । नेपाल प्रहरीको प्रतिआतंकवाद सेलमा कार्यरत एक अधिकारीका अनुसार चुनावी सुरक्षाका निम्ति यो नयाँ चुनौती हुन सक्छ।

तपाईको प्रतिक्रिया