काठमाडौं । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ उम्मेदवार हुने, दिन लगाउने वा सार्वजनिकरुपमा असन्तुष्टि व्यक्त गर्ने काम नगर्न कार्यकर्तालाई निर्देश गरेको छ ।आयोगका अध्यक्ष अमृतकुमार बोहराले शनिबार जारी गरेको विज्ञप्तिमा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भइ साझा उम्मेदवारीका साथ चुनावी अभियानमा होमिएका सन्दर्भमा समयको चाप र परिस्थितिका कारण पार्टीभित्रका सबै इच्छुक, आकांक्षी उम्मेदवारको आवश्यकता र चाहनालाई व्यवस्थापन गर्नु पार्टीका लागि कठिन र चुनौतीपूर्ण कार्य भएको स्मरण गराइएको छ ।

पार्टीले सबैको योग्यता, क्षमता, योगदान र आवश्यकतालाई मध्यनजर गरी सिट संख्याको सीमाभित्र रहेर उम्मेदवार चयन गरी मनोनयन गरेको र यसो गर्दा कैयन् महत्वपूर्ण व्यक्तिलाई उम्मेदवारकारुपमा समावेश गर्न सम्भव नभएको बताउँदै विज्ञप्तिमा चित्त नबुझेका कुरा भन्ने र बहस गर्ने वातावरण पार्टीले बनाउने भएकाले यतिखेर पार्टीले उम्मेदवारको निर्णय गरिसकेपछि उनीहरुकोविरुद्ध नलाग्न आग्रह गरिएको छ । निर्वाचनको प्रक्रियामा प्रवेश गरेपछि असन्तुष्टिका नाममा कतिपय ठाउँमा पार्टी निर्णयकाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी–विद्रोही’ उम्मेदवार हुने वा दिन लगाउने गतिविधि नरोकिए अनुशासनको कारबाही गरिने चेतावनी आयोगले दिएको छ ।

तपाईको प्रतिक्रिया