जनकपुरधाम। दशबुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै यहाँ आज सम्पन्न ‘रामायण सर्किट र मिथिला–अवध सम्बन्ध’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनले जनकपुरधामलाई आदर्श शहरका रूपमा विकास गर्ने परियोजना कार्यान्वयनमा जोड दिएको छ। जनकपुरधाम र अयोध्याको पौराणिक सम्बन्धलाई जीवन्त राख्ने सन्दर्भमा जनकपुरधाम आउने श्रद्धालु, आस्थावान् र पर्यटकलाई तीर्थाटन गराउन सक्ने सम्पदा र क्षेत्रबारे सूचना दिई जनकपुरमा बसाइ अवधि बढाउने आधार र स्थलको व्यवस्थापनको आवश्यकता सम्मेलनले औँल्याएको छ।

सम्मेलनले जनकपुरबाट अयोध्या जाने क्रममा सीतारामले चरण स्पर्श गरेको पाँच स्थललाई लक्ष्य गरी जनकपुरधामदेखि अयोध्यासम्म ‘सीताराम लोकसांस्कृतिक यात्रा’ गर्ने अवधारणा अघि सारेको छ। नेपालका विश्वविद्यालयमा सीताराम र जनकको चरित्र शोध केन्द्र स्थापना गरी चरित्र अध्ययन–अध्यापनका साथै शोध शुभारम्भका लागि सम्बन्धित निकायमा पहलको आवश्यकतामा सम्मेलनले ध्यानाकर्षण गराएको छ। सम्मेलनले जानकी नवमीमा राष्ट्रिय बिदाको माग गर्दै जनकपुर अयोध्या बस सेवा सञ्चालन र जनकपुरदेखि अयोध्या जान सक्ने रेल सेवा विस्तारमा तीव्रताको खाँचोमा जोड दिएको छ। त्यस्तै सीताको जीवनसँग सम्बन्धित लिखित र अलिखित पुस्तकको सूची प्रकाशन र सीताको जीवनका विविध प्रसङ्ग भएको ध्वनि र प्रकाश गाथा प्रदर्शन गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय सम्मेलनले गरेको छ। मिथिला–अवधको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन जनकपुरधाममा अवध सांस्कृतिक महोत्सव र अयोध्यामा मिथिला सांस्कृतिक उत्सव गर्ने निर्णय पनि सम्मेलनले गरेको छ।

मिथिला अवध सांस्कृतिक संरक्षण परिषद्, जनकपुर उपमहानगरपालिका, जनकपुर बृहत्तर क्षेत्र विकास परिषद् र जानकी मन्दिरद्वारा आयोजित दुईदिने सम्मेलनमा मिथिला–अवधको सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध, जनकपुर–अयोध्या कोरिडोरको अवधारणाअन्तर्गत रामजानकी मार्ग, जनकपुधामको मन्दिर, पोखरी र मिथिला, रामायण परिपथअन्तर्गत पर्यटन उद्योगको सम्भावना र जनकपुर र अयोध्याको विकासले नेपाल र भारतको आर्थिक विकासको भूमिका विषयको छलफलमा नेपाल र भारतका धार्मिक, आर्थिक विज्ञ र अनुसन्धानकर्ताको सहभागिता थियो।

तपाईको प्रतिक्रिया