काठमाडौं – पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले आफूले हिन्दी फिल्ममा ‘इन्ट्री’ गर्न लागेको खबर सही नभएको स्पष्ट पारेकी छिन् । केही दिन यता केही सञ्चारमाध्यममा सृष्टिले सन्दीप और पिंकी फरार नामक बलिउड फिल्ममा अर्जुन कपुर र परिणीति चोपडासँगै अभिनय गर्न लागेको समाचार आइरहेकोमा उनले मुख खोलेकी हुन् । सृष्टिले आफ्नो फेसबुकमा स्टाटस पोस्ट गरी आफूले सो फिल्ममा अभिनय गर्न लागेको भन्ने खबर सत्य नभएको बताएकी हुन् ।

उनले स्टाटसमा लेखेकी छिन्– ‘सूचना शक्ति हुन सक्छ, तर गलत सूचनाचाहिँ शक्तिको दुरुपयोग हो । मेरा प्रिय समर्थकहरू, म यो जानकारी दिन चाहन्छु कि केही दिन यता मैले भारतीय फिल्ममा डेब्यु गर्न लागेँ भनेर आइरहेका समाचार अहिलेका लागि झुटा हुन् । कृपया, गलत सूचना ग्रहण नगर्नुका साथै अफवाह नफैलाई दिनुहोला ।’ नयाँ पत्रिकाले छापेको छ ।

‘गाजलु’ फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी सृष्टिले त्यसपछि ‘लाउरे’ फिल्ममा अभिनय गरेकी छिन् । पछिल्लो समय फिल्मभन्दा पनि उनी अभिनेता सौगात मल्लसँगको अफेयरका कारण समाचारमा छाउने गरेकी छिन् ।

तपाईको प्रतिक्रिया