काठमाडौँ । लेबनानमा १० वर्षदेखि घरेलु श्रमशोषणमा रहेकी नेपाली युवतीलाई त्यहाँको प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ। मालिकद्वारा घरमै लुकाएर राखिएकी कालिका गाउँपालिका, रसुवाकी ३१ वर्षीया सोनाम मोक्तानलाई लेबनान प्रहरीले उद्धार गरी नेपाल पठाएको हो।

मोक्तान रित्तै घर फर्किएकी छन्। उनले तलबबापत मात्र ३३ हजार अमेरिकी डलर (झन्डै ३४ लाख ६४ हजार रुपैयाँ) पाउनुपर्ने थियो। लेबनानी मानव अधिकारवादीको चर्को दबाबपछि प्रहरीले मालिकको घरबाट सोनामलाई उद्धार गरेको थियो। सोनामलाई मालिक (स्पोन्सर) ले भिसा नलगाई गैरकानुनी हैसियतमा राखेको थियो। उनलाई दुई सातासम्म डिपोर्टेसन सेन्टरमा राखेर नेपाल पठाइएको हो।

लेबनानी अधिकारवादीले गैरकानुनी हैसियतमा राख्ने मालिकलाई कारबाही नगरेको र घरेलु कामदारलाई दुई सातासम्म डिपोर्टेसन सेन्टरमा थुनामा राखेको भन्दै प्रहरीको समेत आलोचना गरेका थिए। सोनाम सन् २००७ मा लेबनान गएकी थिइन्। उनी लेबनानको जुविलस्थित डा वुट्रोस आवुजोनका घरमा काम गर्दै आएकी थिइन्।

पीडितका परिवारले दुई वर्षअघि सोनामको खोजी गर्न परराष्ट्र मन्त्रालय र लेबनानस्थित अधिकारवादी संस्थाहरूलाई अनुरोध गरेका थिए।

अधिकारवादीहरूले सोनामको अवस्था र मालिक पत्ता लगाएर उद्धार गरी नेपाल पठाउन जनरल सुरक्षा महानिर्देशनालयलाई निरन्तर दबाब दिएका थिए। इजिप्टस्थित नेपाली दूतावासले पनि सोनामका विषयमा लेबनान सरकारको ध्यानाकर्षण गराएको थियो। सोनामको खोजी हुन थालेपछि स्पोन्सर आवुजोनले आफ्नो घरबाट भागेको भन्दै भाइ हसनका घरमा लुकाएर राखेका थिए।

‘मलाई आमा, भाइसँग नियमित सम्पर्क गर्न पनि दिँदैनथे। वर्षमा एक-दुई पटक मात्रै कुरा गर्न दिइन्थ्यो। भूकम्पपछि पनि फोन गर्न दिएन, तेरा सबै आफन्तको मृत्यु भयो भन्दै नेपाल नफर्कन दबाब दियो,’ काठमाडौं आइपुगेपछि सोनामले सुनाइन्, ‘म जाने ठाउँ पनि थिएन। किनकि मेरो राहदानी थिएन। मालिकले अब नेपाल जान पाउँदिनस् भन्थ्यो। अब नेपाल आउन नपाउने भएँ भनेर दुस्खी भएर बसेकी थिएँ।’

सोनामले नेपाल फिर्ने बेला मालिकले एक हजार डलर दिएको बताइन्। तर त्यो पैसा पनि उनले घर ल्याउन पाइनन्। ‘त्यसमध्ये ९ सय डलर विमानस्थलमा चेक गर्ने प्रहरीले लिइदियो,’ उनले भनिन्, ‘नेपाल आइपुग्दा एक सय डलर मात्रै हातमा भयो।’ उनको सुरुको करारपत्रमा मासिक एक सय ३० डलर तलब पाउने उल्लेख छ। नियमअनुसार दुई-दुई वर्षमा तलब वृद्धि भई आउने बेलासम्म मासिक ३ सय डलर पुगेको थियो। परिवारका अनुसार सोनामका मालिकले दस वर्षमा ४५ सय डलर मात्रै पठाइदिएका छन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया