काठमाडौँ । कात्तिक बिहान त्रिशूलीमा ३३ यात्रुको ज्यान जाने गरी भएको बस दुर्घटनामा ‘चालकको लापरबाही’ कारक देखिएको छानबिन समितिले औंल्याएको छ। राजविराजबाट काठमाडौं आइरहेको यात्रुवाहक रात्रिबस धादिङको गजुरी ५, बांगेमोडमा सडकबाट त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनास्थलमा सडकको घुम्ती मोड्न (४० मिटर) पर्याप्त रहे पनि चालक निदाउँदा बस सिधैं त्रिशूलीमा खसेको समितिको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले ठहर गरेको हो । ‘नेपालमा सडकको अर्धव्यास ३० मिटरसम्म रहेको हुँदा दुर्घटनास्थलमा रहेको घुम्ती त्यति गाह्रो होइन,’ समितिका एक सदस्यले भने । दुर्घटनास्थलको अध्ययन–विश्लेषणपछि समिति उक्त निचोडमा पुगेको ती सदस्यले जानकारी दिए।

समितिले लामो दूरीको बसमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने व्यवस्था लागू नहुनुलाई गजुरी दुर्घटनाको प्रमुख कारक औंल्याएको छ। उक्त व्यवस्था प्रभावकारी कार्यान्वयन नहुनुमा ट्राफिक प्रहरीसमेत दोषी रहेको समितिको ठहर छ।

११ कात्तिकको दुर्घटना छानबिनका लागि गठन गरिएको समितिले सडक दुर्घटना न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन सुझाव पनि अघि सारेको छ । सवारीधनी, चालकदेखि विभिन्न सरोकारवालासँगको छलफल र अन्तक्र्रियाका आधारमा समितिले सुझाव अघि सारेको हो।

यसै क्रममा गृह मन्त्रालयले गएको साता सडक दुर्घटना न्यूनीकरणमा सुझाव संकलनका लागि राष्ट्रियस्तरको छलफल आयोजा गरेको थियो। छलफल र अन्तक्र्रियापछि सडक दुर्घटनाका केही उदेकलाग्दा कारण उजागर भएको र तिनको निराकरणका लागि सरकारलाई आवश्यक सुझाव दिने समितिका एक सदस्यले जनाए।

समितिले सडक छेउमा रहेका पानीका धारालाई पनि दुर्घटनाको कारकका रूपमा औंल्याउँदै तिनलाई तत्काल हटाउन सुझाएको छ। समितिसँग छलफलमा चालकहरूले सडकछेउ रहेका पानीका धारामा हुने भीडभाडले ध्यान मोड्ने गरेको बताएका थिए। त्यसैगरी सडक छेउका होर्डिङ बोर्ड पनि दुर्घटनाको कारक रहेकाले हटाउने निष्कर्ष पनि समितिले निकालेको छ। राजमार्ग अतिक्रमण गरी बनाइएका टहरा पनि दुर्घटनाका कारक देखिएकाले तत्काल हटाउन सुझाइएको छ।

कतिपय दुर्घटना सहचालकले सवारी हाँकेका कारण पनि हुने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्न चालकहरूका लागि बेग्लै पोसाक व्यवस्था गर्नुपर्ने र त्यसबाट यात्रुमा चालकप्रति सम्मान र विश्वास बढ्ने अपेक्षा पनि समितिको छ। प्रहरी कन्ट्रोल रुममा सिधै फोन वा एसएमसएस गर्न पाउने गरी बसभित्रै प्रस्ट रूपमा हटलाइन उल्लेख गर्नुपर्ने सुझाव पनि समितिको छ। यसबाट चालकले यात्रुहरूसँग झैझगडा गर्ने, मदिरा सेवन गर्ने र लापरबाहीपूर्ण ढंगले सवारी हाँक्ने प्रवृत्ति अन्त्य हुने समितिले जनाएको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया