काठमाडौं – वातावरण व्यवस्थापन, वन व्यवस्थापन र कृषि वनमा स्नातकोत्तर उत्तीर्ण गरेका व्यक्ति हुन्, राजु आचार्य । उनले विगत ९ वर्षदेखि उल्लु (लाटोकोसेरो)का विषयमा खोज–अनुसन्धान गर्दै आएका छन् । लाटोकोसेरोसम्बन्धी उत्कृष्ट काम गरेबापत ‘सन् २०११ मा स्पेसल एचिभमेन्ट अवार्ड’ पनि पाइसकेका छन् । ब्वाँसो, जंगली चौँरी, चिर कालिज, हिमाली गिद्धबारे पनि जानकार आचार्यले उल्लुबारे केही रोचक जानकारी दिएका छन् :

राजु आचार्य लाटोकोसेरोका अध्येता

लाटोकोसेरो यस्तो चरो यो राति सक्रिय हुने चरो हो । यो रूखको टोड्का र पहारामा बस्छ । संसारभर दुई सय २५ भन्दा बढी प्रजातिका लोटोकोसेरा पाइन्छन् । तर, नेपालमा २३ प्रजातिका मात्रै पाइन्छन् । नेपालमा तराईदखि हिमालसम्म नै पाइने भए पनि तराई क्षेत्रमै धेरै छन् ।

मान्छेको अन्न जोगाउन मद्दत लाटोकोसेरोको एउटा प्रजाति हो, मलाहा हुँचिल । यसले माछा मन पराउँछ । गोठे लाटोकोसेरोले भने मुसा मन पराउँछ । लाटोकोसेरोले सबैभन्दा धेरै मन पराउने आहार भनेकै मुसा हो । मानवबस्ती रहेको तथा अन्न उत्पादन हुने क्षेत्र लाटोकोसेरोको सुखी क्षेत्र हो । किनभने यी ठाउँमा मुसा सक्रिय हुन्छन् । मुसा धेरै हुनु भनेको अन्नमा मान्छेको भाग खोसिनु हो । यस्तो भाग खोस्ने मुसालाई तह लगाउने काम लाटोकोसेरोले गर्छ । यसैले मान्छेले लगाएको अन्न जोगाउन लाटोकोसेरोले धेरै मद्दत गर्छ । यो चरोको आवाज नै अनौठो हुन्छ । केटाकेटी त डराउँछन् । यसकारण मान्छेहरूले घरनजिक लाटोकोसेरोलाई गुँड लगाउन दिँदैनन् । यो चरोको महत्व नबुझेर यस्तो गरिएको छ । सामान्यतया एउटा लाटोकोसेरोले चार महिनामा तीन हजारभन्दा धेरै मुसा खान्छ । त्यसैले यो किसानको साथी हो । धार्मिक रूपमा यसलाई लक्ष्मीको बाहन मानिन्छ ।

संरक्षणका चुनौती डढेलोले तराई तथा मध्यपहाडी क्षेत्रमा धेरै असर गरेको छ । नेपालमा गैँडा, बाघजस्ता वन्यजन्तुको विनाशमा जस्तै लाटोकोसेरो विनामा पनि डढेलोले असर गरेको छ । यो चराको संख्यामा हरेक वर्ष कमी हुँदै आएको छ ।

लाटोकोसेरोको मासु औषधि हुन्छ भन्ने अन्धविश्वास पनि छ । यसकारण कतिपयले मारेको पाइन्छ । अवैध चोरी–सिकारीमा गैँडा, बाघ, भालु मात्र होइन, लाटोकोसेरो र हुँचिलको पनि व्यापार हुने गरेको छ । अन्य वन्यजन्तुको अंगहरूको व्यापार हुने गरेको छ भने लाटोकोसेरो जिउँदै ओसारपसार हुन्छ । नेपालमा हरेक वर्ष दुई हजारभन्दा धेरै लोटोकोसेरोको अवैध व्यापार हुन्छ । यसको तस्करी भारत र चीनमै बढी हुन्छ । चीनमा औषधि बनाउनमा प्रयोग गरिन्छ भने भारतमा तान्त्रिक विधिमा । यसको हड्डीको माला लगाउँदा महिलामा लाग्ने थुनिलो रोग सञ्चो हुने, मसानघाटमा पनि नतर्साउनेजस्ता अन्धविश्वास छ । मरेको लाटोकोसेरो घरमा झुन्ड्याउँदा भूतप्रेत आउँदैन भन्ने विश्वास गरिन्छ ।

भारतमा तिहारमा हजारौँ लाटाकोसेरोको बलिसमेत दिइन्छ । घरको सुरक्षाका लागि हिमाली भेगतिर काग र यसको प्वाँखलाई मूल ढोकामा राख्ने चलन छ । यस्ता परम्परागत धारणा र अन्धविश्वासमा कुनै वैज्ञानिक तथ्य पुष्टि भने भएको छैन ।

संरक्षणका लागि प्रयास सरकारले लाटोकोसेरोको व्यापारलाई रोकेको छ । सबैभन्दा धेरै लाटोकोसेरो पाइने मनाङ र मुस्ताङका १४ स्थान विशेष संरक्षण क्षेत्र तोकिएको छ । यहाँ विभिन्न अध्ययन तथा अनुसन्धान पनि हुने गरेको छ । नेपालमा करिब १५ हजारभन्दा धेरै विद्यार्थीलाई यो चराबारे चेतना दिइसकिएको छ । लाटोकोसेरो र हुँचिलका पोस्टर पम्प्लेट टाँसेर जनचेतना दिने काम भएका छन् । लोटोकोसेरो र हुँचिलको महत्व दर्शाउने उद्देश्यले विगत ६ वर्षदेखि हरेक वर्ष लाटोकोसेरो महोत्सव पनि गरिँदै आएको छ।

अनौठो क्रियाकलाप

अँध्यारोमा सक्रिय : लाटोकोसेरोको आँखामा रड र कोन नामक दुई प्रकारका कोषिका हुन्छन् । रडले थोरै प्रकाशमा पनि सजिलै देख्न सकिने क्षमता दिन्छ भने कोनले रङहरू छुट्याउने काम गर्छ । लाटोकोसेरोको आँखामा रडको संख्या कोनको तुलनामा १० देखि १३ गुणा बढी हुन्छ । त्यसैले यो चराले प्रकाशमा राम्रोसँग देखे पनि रङ छुट्याउन भने सक्दैन । साथै यिनीहरूको आँखाको नानीको आधार पनि शरीरको तुलनामा ठूलो हुन्छ । शरीरलाई १०० प्रतिशत मान्ने हो भने आँखाको भाग ५ प्रतिशतसम्म हुन्छ । दिउँसोको उज्यालोमा आँखा झनै ठूलो हुने भएकाले बढी प्रकाश छिर्छ र आँखा देख्न समस्या पर्छ । यसकारण यो चरो बिहान, बेलुका र रातिमा धेरै सक्रिय हुन्छ ।

डरलाग्दा आँखा : लाटोकोसेरोका तीनवटा परेला हुन्छन् । फोहोर नपरोस् भनेर यसले माथिको परेला झिम्क्याइरहन्छ । सुत्ने वा आराम गर्ने वेलामा तलको परेलालाई माथितिर लैजान्छ । नाकको छेउतिर अर्थात् दुवै आँखाको छेउ भागमा छालाका झिल्लीजस्तो हुन्छ, जसले आँखा सफा गर्ने र आवश्यक पानीको मात्रा आँखाको सबैतिर पु¥याउने काम गर्छ । यसकारण यसको आँखा डरलाग्दो देखिन्छ । नयाँ पत्रिकाले छापेको छ ।

टाउको घुमाउने : मानिसले आफ्नो टाउकोलाई एकतिर मात्रै ९० डिग्री वा असाध्यै बल ग¥यो भने ९० डिग्रीभन्दा केही बढी मात्रै घुमाउन सक्छन् । तर, लाटोकोसेरोले एकातिर मात्रै २७० डिग्रीसम्म घुमाउन सक्छ । कतिपय अवस्थामा यो चराले टाउको फिरफिरे जसरी घुमाउन सक्छ ।

तपाईको प्रतिक्रिया