काठमाडौं, कात्तिक १८ । अनामनगरको गल्ली छिचोल्दै म्युजिक बैंक आइपुगिन् विमला लामा थिङ । प्लास्टिकको बैजनी चप्पल ढोकाबाहिर खोलेर ६७ वर्षीया उनी स्टुडियोभित्र पसिन्– गीत रेकर्ड गराउन ।

विमला ती गायिका हुन्, जसको सपना १६ पटकसम्म रेडियो नेपालको स्वर परीक्षामा ‘असफल’ हुँदासमेत मरेन ।

‘मेरो गीत आज रेकर्ड होला त बाबु ?’ रेकर्डिङमा व्यस्त कृष्ण पुनलाई कुप्रो ज्यानले नमस्कार टक्र्याउँदै प्रश्न गरिन् । कृष्णको हाउभाउले शुभ बताइरहेको थियो । उनी सोफामा बसिन् । एकछिन सुस्ताइन् अनि घडी हेरिन् । त्यसपछि झोलाबाट सीडीका पोका र कागजका टुक्रा निकालिन् ।

‘गीत रेकर्ड गराउन पैसा कहाँबाट ल्याउनुहुन्छ नि आमा ?’ कृष्णले विमलालाई सोधे । उनले पुलुक्क हेरिन् । एकछिन चुपचाप बसिन् । ‘महिनाको एक हजार एकल महिलाको भत्ता आउँछ । त्यही जम्मा गरेर रेकर्ड गर्छु,’ विमलाको भनाइ मार्मिक थियो । उनको भनाइले स्टुडियोमा सन्नाटा छायो । उनी भने गीतका पानाहरू मिलाउन व्यस्त थिइन् ।

विमला बाँचिरहेको यो उमेरमा कोही आँगनको डिलमा बसेर नाति÷नातिनी खेलाउँदै होलान्। कोही कौसीमा बुढेसकाल गन्दै होलान् । कोही वृद्धाश्रममा बसेर अन्तिमपटक सन्तानको मुख हेर्न पदचाप पर्खिरहेका पनि होलान् । उनी भने राजधानीका रेकर्डिङ स्टुडियो धाइरहेकी छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

तपाईको प्रतिक्रिया