काठमाडौँ ।  ग्याष्ट्रिक तथा पेटका रोगीहरुले योगाभ्यास गर्दा विस्तारै गर्नुपर्छ । योगाभ्यास नियमति रुपमा गर्दै जानुपर्छ । योग स्वच्छ हावा चल्ने हरियो चौर वा खुल्ला ठाउँमा गर्नु राम्रो मानिन्छ । योगका कुनै पनि अभ्यासलाई ६ देखि १० पटकसम्म दोहो¥याउनु पर्छ ।

पवनमुक्तासन

यो आसनमा उत्तानो सुतेर दाहिने खुट्टा खुम्चाउनुपर्छ भने बायाँ खुट्टा सिधा तन्काएर राख्नुपर्छ । दुबै हातले खुम्चाएको दाहिने खुट्टालाई समाती श्वास लिंदै खुट्टालाई आफूतिर तान्ने । चिउडोलाई घुँडामा छुने प्रयास गर्दै करिव दश सेकेण्डसम्म श्वास रोक्ने र विस्तारै श्वास छाड्दै टाउको तल राख्ने । त्यसपछि दुबै खुट्टालाई सोझो पार्ने, यसैगरी बायाँ खुट्टालाई पनि दाहिने खुट्टा जस्तै खुम्चाएर सोही अभ्यास गर्ने । त्यसपछि दुबै खुट्टालाई खुम्चाएर दुबै हातले समाती श्वास लिंदै, छोड्दै गर्ने ।

फाईदा : स्त्री तथा गर्भासय सम्बन्धी रोग, अम्लपित्त, मुटु रोग, जोर्नी तथा कम्मरको दुःखाईमा फाईदा गर्नुका साथै पेटको वायु बिकार हट्छ र पेटमा बढेको बोसो समेत कम हुन्छ ।

नौकासन

उत्तानो परेर दुबै हातलाई तिघ्राको माथि राखेर सिधा सुत्ने, दुबै खुट्टा जोड्ने । अब श्वास लिंदै हात, खुट्टा र कम्मरलाई एकै साथ भुँइबाट केही माथि उठाउने र हातलाई घँुडामा राखेर दश सेकेण्डसम्म श्वास रोक्ने, दश सेकेण्डपछि श्वासलाई छाड्दै जाने ।

फाईदा : मुटु, फोक्सो तथा आन्द्राहरुलाई निरोगी बनाउछ । त्यस्तै कलेजो तथा पेटका रोगलाई फाईदा गर्छ ।

बालासन

घोप्टो परेर सुत्ने र बायाँ हातलाई टाउकोको तलतिर जमिनमा राख्ने तथा गर्धनलाई दाहिनेतर्फ घुमाउदै टाउकोलाई हातमा राख्ने । यसो गर्दा बाँया हात टाउकोको तल हुन्छ तथा बाँया हातको हत्केला दाँया हातको तल हुन्छ । अब दाँया खुट्टालाई घुँडाबाट थोरै मोडेर बालक सुतेजस्तै गरेर सुत्ने ।

फाईदा : स्नायूहरुको दुर्वलता, शारीरिक थकान तथा नकारात्मक चिन्तनहरु हराएर जान्छन् । तन–मनलाई शक्ति दिन्छ । आनन्द र उत्साह मिल्छ । डिप्रेसन, उच्च रक्तचाप, अनिद्रामा फाईदा पु¥याउँछ । ग्याष्टिक तथा पेटका रोगहरुका साथसाथै मेरुदण्ड सम्बन्धी रोगलाई पनि फाइदा गर्छ ।

भुजङगासन

दुबै खुट्टा जोडेर लमतन्न घोप्टो परेर सुत्ने । दुबै हातको हत्केलालाई भुईमा टेकेर टाउकोलाई आकाशतर्फ उठाई श्वास लिंदै छाती माथि उठाउने । माथि हेरेर केहीबेर श्वास रोक्ने । अब श्वास छाड्दै पहिलाकै अवस्थामा फर्कने ।

धनुरासन

घोप्टो सुती दुबै खुट्टालाई घँुडाबाट मोडेर कुर्कुच्चालाई नितम्व (हिप) माथि राख्ने । घुँडा र पाइतलालाई मिलाएर राख्ने । दुबै हातले खुट्टाको गोली गाँठोको छेउमा समाती श्वासलाई भित्र भरेर घुँडा तथा तिघ्रालाई क्रमशः उठाउदै माथितिर तान्ने, हातलाई सिधा राख्ने । यसो गर्दा नाभी तथा पेटको भाग भुईमा रहेको र पेट माथिको भाग छाती घाँटी तथा टाउकोलाई माथि उठाउने । यसो गर्दा नाभी तथा पेट छेउछाउको भाग भुईमा र बाँकी भाग उठेको हुनुपर्छ, जसले शरीरको आकृति धनुष जस्तो हुन्छ । यो स्थितिमा १० देखि १५ मिनेटसम्म बस्ने । अब श्वासलाई छोड्दै क्रमशः सुरूको अवस्थामा आउने र श्वास–प्रश्वास सामान्य भएपछि यो आसन दोहो¥याउने । यो आसनबाट महिलाहरू महिनावरी गडवडी, कम्मरको दुखाई तथा पेटसम्बन्धी रोगमा लाभ पु¥याउँछ । मिर्गौलालाई पुष्ट बनाई, मुत्र विकारलाई हटाउँछ । मेरूदण्डलाई स्वास्थ तथा लचिलो बनाउँछ । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

उष्ट्रासन

बज्रासनको स्थितिमा बसेर कुर्कुच्चालाई माथि उठाउँदै त्यसमा दुबै हात राख्ने । अब घुँडाले भुईमा टेकेर श्वास लिदै, टाउको एवं घाँटीलाई पछाडी मोडेर कम्मरलाई माथि उठाउने । सकेजति पछाडी झुकेर श्वासलाई केहीबेर रोक्दै स्थिर बस्ने र त्यसपछि श्वास छोड्दै कुर्कुच्चामा बस्ने ।

तपाईको प्रतिक्रिया