खगेन्द्र दाहाल, नेपालगन्ज १७ कार्तिक । बाँकेमा रसायनिक मलको अभाव भएको छ । बाढिका कारण धान बालीमा नोक्सानी ब्यहोरेका बाँकेका किसानहरुले हिउँदे बाली लगाउने बेला मलको अभाव झेलिरहेका छन् । गहुँ, दलहन एवं तोरी लगाउने बेला प्रयोग हुने डिएपी र युरिया मल जिल्लामा छैन । मल अभाव भएपछि किसानहरु साल्ट टे«डिङ र कृषि सामग्री केन्द्रमा दैनिक पुग्छन र रित्तो हात फर्किन्छन् । बाली लगाउने बेला नै मल अभाव भएपछि उत्पादन घट्ने चिन्ताले किसानहरु पिरोलिएका छन् ।

बाँकेको बेतहनीमा रहेको ऐरावती कृषि सहकारी संस्थाका अध्यक्ष किसनलाल मौर्य मलका लागि दैनिक साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमीटेड धाउछन । र, निरास हुदै रित्तो हात घर फर्कन्छन । वर्षामा लगाएको धानबालीमा बाढिका कारण क्षति ब्यहोरेका किसानहरु हिउँदे बाली लगाउने बेला मल नपाइएमा उत्पादन घट्ने चिन्ताले पिरोलिएको मौर्य बताए । भारतसँग सिमा जोडिएको बाँके जिल्लाको सिमापारिका किसानहरुलाई भने मलको झन्झट छैन । जिल्लामा मल नभएपछि यहाँका किसानहरु पनि सिमावर्ती भारतिय बजार पुग्छन् र लुकाई छिपाई भित्र्याउन खोज्दा प्रहरीको दुव्र्यवहार र झन्झट सहन बाध्य भएका छन् । जिल्ला कृषि विकास कार्यालय बाँँकेका अनुसार जिल्लामा हाल वार्षिक २ हजार मेट्रिक टन डिएपी, ५ हजार मेट्रिक टन युरिया र १ सय मेट्रिक टन पोटास मलको आवश्यकता छ । तर, हिउँदेबालीमा विशेषगरि गहुँबालीका लागि आवश्यक पर्ने डिएपी मल हाल न साल्ट ट्रेडिङ सँग छ न त कृषि सामग्री कम्पनी लिमीटेड सँग । बाली लगाएको केहि समयपछि आवश्यक पर्ने युरिया मल पनि बाँके जिल्लामा छैन । कृषि सामग्री कम्पनी लिमीटेडका क्षेत्रिय प्रबन्धक नवलसिंह बोगटिले मगाईएको मल भारतको कोलकत्ता बन्दरगाहमा अड्किँदा देशभरी नै अभाव भएको बताउछन ।

जिल्लाका १ सय बढि कृषी सहकारी संस्थामार्फत साल्ट टे«डिङ र कृषि सामग्री कम्पनी लिमीटेडले किसानलाई मल उपलब्ध गराउनु पर्छ । किसानहरु जिल्लामा मल आइपुगेपनि सहकारीमार्फत मल हात पर्दासम्म बाली लगाउन ढिला हुने चिन्तामा छन । जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्ण बहादुर बस्नेतले भने अहिले नै आत्तिईहाल्नुपर्ने अवस्था नभएको र केहि दिनमै मल जिल्लामा आईपुग्ने बताए । बाँके जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती, ४ हजार हेक्टरमा दलहन एवं एक सय हेक्टर क्षेत्रफलमा तेलहन खेती हुने गरेको छ । हाल ७ सय ५० मेट्रिक टन डिएपी, ७ सय मेट्रिक युरिया, १ सय मेट्रिक टन मलको माग रहेको कृषि सामग्री कम्पनी लिमीटेडले जनाएको छ ।

तपाईको प्रतिक्रिया