काठमाडौँ । गाउँदेखि केन्द्रसम्म वामपन्थी सरकार’ भन्ने मूल नारा राख्दै एमाले-माओवादी केन्द्रसहितको वाम गठबन्धनले संयुक्त चुनावी घोषणापत्र तयार गरेको छ।

आगामी १० वर्षभित्र गरिबीको रेखामुनि रहेका सबैलाई मुक्त गर्ने महत्त्वाकांक्षी लक्ष्य वामपन्थी गठबन्धनले बोकेको छ। भूकम्प र नाकाबन्दीपछि करिब २५ प्रतिशत हाराहारीमा रहेको गरिबीलाई दस वर्षभित्रै निर्मूल पार्ने प्रतिबद्धता गठबन्धनले गरेको छ। दुई दिनअघि वाम गठबन्धनको प्रमुख प्रतिस्पर्धी दल कांग्रेसले १० वर्षमा गरिबी ३ प्रतिशतभन्दा कममा सीमित गर्ने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ। हाल गरिबीको रेखामुनि २१ प्रतिशत जनसंख्या रहेको आधिकारिक तथ्यांक छ। भूकम्प र नाकाबन्दीपछि वृद्धि भई करिब २५ प्रतिशत हाराहारी पुुगेको अनुमान गरिएको छ।

‘आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याइनेछ। निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई सो अवस्थाबाट मुक्त गरिनेछ,’ केही दिनमै सार्वजनिक गर्ने तयारी रहेको वाम घोषणापत्रमा भनिएको छ, ‘१० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्र विकासको थालनी गरिनेछ । यस शताब्दीको अन्त्य अर्थात् २०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र विकासका योजना र कार्यक्रम अगाडि बढाइनेछ।’

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट वामपन्थी शक्तिहरूको अत्यधिक बहुमतको सरकार निर्माण हुने दाबी घोषणापत्रमा छ। ‘मुलुकलाई राजनीतिक स्थिरता र समृद्धिको दिशामा गुणात्मक ढंगले अघि बढाउने अवसर हो,’ जनमतलाई आफूतिर तान्नुपर्ने कारण राख्दै त्यसमा भनिएको छ, ‘हामीले इमानदारी र क्षमतापूर्वक राष्ट्र र जनताको नेतृत्व गर्दै स्वाधीन, समृद्ध, समुन्नत एवं समाजवादउन्मुख नेपाल निर्माणको उद्देश्य पूरा गर्न सक्छौं।’ आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

नेपाली कम्युनिस्ट आन्दोलनका मूल प्रतिनिधि संस्था एमाले र माओवादी केन्द्र रहेको र निकट भविष्यमा एउटै एकीकृत पार्टीमा रूपान्तरित गर्ने तयारी रहेको घोषणापत्रमा उल्लेख गरिएको छ । दुई पार्टीले मंसिर १० र २१ गते हुने चुनावमा तालमेल गर्ने र चुनावपछि एकीकरण गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । कांग्रेस र मधेसकेन्द्रित दलहरूले राष्ट्रियता र स्वाधीनताका पक्षमा काम नगर्दा मुलुक अधोगतितिर लागेको दाबी उनीहरूको छ।

तपाईको प्रतिक्रिया