राजधानीको कमलादीस्थित हेरिटेज प्लाजाभित्र बुधबार साँझ गोली चलेको छ । कर्पोरेट कार्यालयहरू रहेको सो प्लाजाभित्र गोली चलेको आवाज सुनिएपछि प्रहरीले खोजतलास गर्दा अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पन्जाबका जसवीर सिंह र अरविन्द सिंह रहेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार, पक्राउ परेलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानमा उनीहरू सुटर रहेको खुलेको छ । मंगलबार मात्रै भारतीय गाडी लिएर काठमाडौं आएका उनीहरूले बुधबार साँझ हेरिटेज प्लाजास्थित गण्डकी खाजा घरमा खाजा खाएका थिए । सोको बिल २२ सय रुपैयाँ उठेपछि महँगो भएको भन्दै उनीहरूले निहुँ खोजेका थिए । वादविवादकै क्रममा उनीहरूले आफूहरू प्रहरी भएको भन्दै पेस्तोल निकालेर एक राउन्ड फायर गरेका थिए । त्यसपछि उनीहरू भागेका थिए । भाग्दै गर्दा कमलपोखरी र दरबारमार्गबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।,खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सो घटनापछि प्रहरीले हतियार ल्याउनुको प्रयोजन र फायर खोल्नुको कारणबारे अनुसन्धान थालेको छ । महानगरीय आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले पक्राउ परेका दुवै भारतीय नागरिक मंगलबार मात्रै स्थलमार्गबाट भैरहवाको सुनौली नाका हुँदै काठमाडौं आएको बताए ।

प्रहरीले उनीहरूलाई कमलपोखरी वृत्तमा राखेर बयान लिएको थियो । उच्च प्रहरी स्रोतले उनीहरू ठूलै घटना गराउन काठमाडौं छिरेको हुन सक्ने आशंका गरेको छ । उनीहरू पक्राउ परेपछि नेपाल प्रहरीको विशेष ब्युरो (सीआईबी) ले पनि अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनीहरू भारतीय सार्पसुटर भएको अनुमान गरेको छ ।

बुधबारको यो घटनासँगै भारतीय सार्पसुटर किन नेपाल आए भन्ने प्रश्न पनि खडा भएको छ । तीन साताअघि काठमाडौंमै भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि भारतीय सार्पसुटरको प्रयोग भएको आशंका गरिँदै आएको छ । यसले राजधानी काठमाडौंको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा हुन थालेको छ।

तपाईको प्रतिक्रिया