काठमाडौँ । निर्वाचन क्षेत्र भागबण्डा नमिलेपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन संकटमा परेको छ।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको सयुक्त गठबन्धनसँग कांग्रेसको भागबण्डा नमिलेपछि तालमेल नहुने भएको हो। प्रदेश २ मा राजपा र फोरमले प्रतिनिधिसभामा न्यूनतम २० सिट र प्रदेशसभामा ४० सिट मागेका थिए। यो प्रदेशमा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन्। कांग्रेसले ५० प्रतिशतभन्दा बढी (प्रतिनिधिसभामा कम्तिमा १७ सिट) चाहिने अडान राखेपछि राजपा र फोरमसँग तालमेलको संभावना करिब समाप्त भएको हो।

राजपा र फोरम गठबन्धनले प्रदेश २ लाई ‘आफ्नो प्रभाव क्षेत्र’ भन्दै कांग्रेसलाई अन्य प्रदेशमा सघाउने बचन दिएका थिए। राजपा र फोरमले स्थानीय तहमा प्राप्त मतका आधारमा यो प्रदेशमा कांग्रेसलाई १४ सिट दिन तयार भएका थिए। तर कांग्रेस १७ सिट भन्दा तल झर्न नमानेपछि सहमति हुन नसकेको पार्टी सभापति एंव प्रधानमन्त्री शेरवहादुर देउवा निकट स्रोतले बतायो।

चुनावी तालमेलका लागि बुधबार दिनभरजसो कांग्रेस, राजपा र फोरमका नेताहरुबीच बार्ता भएको थियो। बार्ता सहमतिमा नपुगेपछि राजपा नेताहरुले ‘कांग्रेसको घमण्डका कारण लोकतान्त्रिक गठबन्धन धरापमा परेको’ बताए। ‘कांग्रेसका नेताहरुमा दुरदृष्टि देखिएन, लोकतान्त्रिक गठबन्धन बनाएर जानुपर्छ भन्ने हाम्रो अन्तिम प्रयास थियो,’ बैठकपछि राजपा नेता राजेन्द्र महतोले भने, ‘कांग्रेसकै कारण तालमेल हुन सकेन।’

राजपा नेता मनिस सुमनले स्थानीय तहमा कांग्रेस, राजपा र फोरमले पाएको मत अध्ययन गरेर सिट बाँडफाँड गर्ने प्रयास हुँदा समेत कांग्रेसले ‘घमण्ड’ देखाएका कारण सहमति नभएको बताए। ‘कांग्रेस नेतालाई धनुषामा मात्रै तीन वटा निर्वाचन क्षेत्र छाड्नु पर्ने, हाम्रा शीर्ष नेताहरु लड्ने ठाउँमा चाहिँ नछाड्ने भएपछि सहमति हुन सकेन,’ उनले भने। सबै सिटमा सहमति हुन नसके पनि राजपा र फोरमका शीर्ष नेता उम्मेदवार बन्ने क्षेत्रमा तालमेल गर्ने प्रयास भएको थियो। त्यसको बदलामा कांग्रेस नेता विमलेन्द्र निधिसहित राजमार्गका निर्वाचन क्षेत्रमा राजपा र फोरमले छाड्न तयार भएका थिए। तर राजपाका शीर्ष नेता चुनाव लड्ने क्षेत्र छाड्न कांग्रेसभित्रै कुरा नमिलेपछि समस्या आएको स्रोतले बतायो।

फोरम र राजपासँग तालमेल नभएपछि कांग्रेसको तालमेल राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग मात्रै भएको छ। राप्रपासँग पनि झापाको बिषयलाई लिएर दुवै पक्षमा असन्तुष्टि बढेको छ। झापा ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङेनबीच विवाद बढेपछि राप्रपासँगको गठबन्धन पनि विश्वासयुक्त बन्न सकेको छैन।

उक्त क्षेत्र कांग्रेसले पहिला राप्रपा महामन्त्री लिङदेनका लागि छाड्ने निर्णय गरेको थियो। तर सिटौलाले पनि लड्ने ईच्छा देखाएपछि कांग्रेस सहमतिबाट पछि हट्यो। सिटौला उम्मेदवार हुने भएप्छि लिङदेनले कम्यूनिष्ट गठबन्धनसँग मिलेर चुनाव लड्ने बताएका छन्।

जसका कारण राप्रपासँग कांग्रेसको अविश्वास बढेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया