नेपालगन्ज १५ कार्तिक । बाँकेमा बाम गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएका छन् । तर लोकतान्त्रिक गठबन्धनले भने उम्मेदवार टुङ्ग्याउन सकेको छैन् । प्रतिनिधिसभाका लागि एकएक निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि तीनतीन क्षेत्र बाँडफाँड गरेको एमाले–माओवादी केन्द्रको बामठबन्धनले सबै उम्मेदवारको टुङ्गो लगाएको छ ।

नेकपा एमालेले बाँके क्षेत्र नम्वर तीनबाट प्रतिनिधिसभाका लागि नन्दलाल रोकायालाई टिकट दिएको छ । त्यसैगरी प्रदेशसभाका लागि क्षेत्र नम्वर १ ख बाट आरती पौडेल, क्षेत्र नम्वर २ ख बाट विजय गुप्ता र क्षेत्र नम्वर ३ ख बाट बाबुराम गौतमले टिकट पाएका छन । त्यस्तै नेकपा माओवादी केन्द्रबाट बाँके क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि महेश्वर गहतराज अथक, क्षेत्र नम्बर १ क को प्रदेशसभाका लागि नमुना केसी, क्षेत्र नम्बर २ क का लागि कामता प्रसाद खटिक र क्षेत्र नम्बर ३ क का लागि आइपी खरेलले टिकट पाएका छन । यद्यपी नमुना केसीले भने आफुले प्रदेशसभामा चुनाव नलड्ने भन्दै टिकट अस्विकार गरेकी छन ।

सदभावसँग संक्षिप्त कुरा गर्दै केसीले आफु प्रतिनिधिसभाका लागि सिफारिस भएकाले प्रदेशसभाबाट चुनाव लड्ने नैतिक आधार नभएको भन्दै टिकट अस्विकार गरेको जानकारी दिइन । बामगठबन्धनबाट पशुपति दयाल मिश्रले क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाका लागि टिकट यसअघि नै पाइसकेका छन । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट बाँके क्षेत्र नम्वर २ मा प्रतिनिधिसभाका लागि राप्रपाका ओमप्रकाश आजादलाई टिकट दिएपनि अन्य उम्मेदवारको भने टुङ्गो लाग्न सकेको छैन । तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा तीन प्रतिनिधि र ६ प्रदेशसभाका लागि प्रत्यक्षबाट निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया