चितवन : थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गँैंडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् ।

दुई÷चार हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५÷१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । गैँंडा मार्न वन पसेकाको खाद्यान्न, लत्ताकपडा बोक्ने, बजारबाट खाद्यान्न वनसम्म पु¥याउने भरिया, गँैंडा मार्न सहयोग गरेर पाएको पैसासँगै बसेर भोज खाने साथीभाइदेखि गैंडालाई गोली हान्ने, खाग काट्ने र बिक्री गर्नेसम्मका कुख्यात तस्कर यतिबेला कारागारमा सँगै छन् ।

भरतपुर कारागारमा मात्रै यो संख्या १२४ रहेको छ । जसमध्ये ठूलो संख्यामा अल्पसंख्यक चेपाङ समुदायका व्यक्ति रहेका छन् । कुल संख्यामध्ये ३६ जना चेपाङ नै रहेका छन् । त्यसो त एक दिन गाउँबाट खाद्यान्न बोकेर राप्तीको किनारसम्म पु¥याइदिनेदेखि २७ वटा गैंँडा मारेको स्वीकार्नेसम्मका व्यक्ति एउटै कारागारमा एउटै सजाय भोग्दैछन् ।

सँगै भोज मात्रै खाने, रासन पु¥याउँदा दुई हजार पाएकादेखि २७ वटा गैँंडाको खाग तस्करी गर्दा करोडौं कमाउने सबैको अवस्था भने एउटै छ । आर्थिकरुपमा तस्करीकै बेला सम्पन्न भए पनि जसरी पैसा आयो, उसैगरी नै गएको भनाइ उनीहरुको छ ।

चितवनको साविक कोराक गाविस–९ कालिखोलाका ३७ वर्षीय राजकुमार प्रजाले २७ वटा गैंँडा मारेर खाग बिक्री गरेको स्वीकारेका छन् । उनीमाथि १९ वटा मुद्दा छन् । सर्वाधिक खोजीको सूचीमा परेपछि नक्कली राहदानी बनाई मलेसिया पुगेका प्रजालाई त्यहीँबाट पक्राउ गरी यहाँ ल्याइएको हो ।

शुरुमा २०६० सालमा भरियाबाट तस्करी थालेका उनी एकाएक मुख्य नाइकेको भूमिकामा पुगेका थिए । भारी बोक्ने क्रममा दुई गैँंडा मारेको बताउने उनी पछि मुख्य योजनाकार बनेपछि २५ गैंँडा मारेका स्वीकार्छन् । जसमध्ये २० वटा खाग काटेर बिक्री गरेको र पाँचवटा गैंँडा गोली लागेपछि भागेको उनको स्वीकारेका छन् ।

भारी बोक्दा २०÷२५ हजार कमाउने उनले समग्र योजना बुनेर गैंँडाको खास बिक्री गर्दा एउटै खागबाट २०÷३० लाखसम्म कमाएको बताए । त्यसरी कमाएको पैसा अहिले उनीसँग बाँकी छैन । उनले भने “धेरै पैसा कमाएँ, तर जसरी आयो, उसैगरी गयो ।” भाग्ने, लुक्ने र मोजमस्तीमै सबै पैसा खर्च भएको उनले बताए ।

उनका ११ वर्षे छोरा र १३ वर्षे छोरी घरमा श्रीमतीसँगै छन् । उनको कारागार जीवन अझै १२ वर्ष ६ महिना बाँकी छ । उनले भने “जुन अपराध मैले जानी नजाने गरेँ, यसलाई पखाल्ने गरी जेल जीवनपछि समाज सेवामा लाग्नेछु ।” तस्करी गरेर उनले जति कुनै चेपाङले पैसा पाएनन् । “तर पाएर पनि मैले के गरेँ” उनले गुनासो गरे “यस्ता अपराधी कार्यमा कोही नलागोस् । अहिले पछुताउनु बाहेक मसँगै केही बाँकी रहेन ।” त्यसो त उनी मात्रै होइन, उनले पूरै इष्टमित्र र आफन्तलाई यो दलदलमा फसाएका छन् । उनका दाजु दलबहादुर र बलबहादुर यही कसुरमा सँगै कारागारमा छन् । भिनाजु रामचन्द्र, भान्जा वुद्धि, जेठान वीरबल, साला काजीमान पनि उनीसँगै कारागारमा छन् ।

यसमध्ये कतिपय भरिया छन् भने कतिपय गोली हान्ने ‘सुटर’ रहेका छन् । जसमध्येका भरिको मात्रै काम गरेका कोराकका वीरबल प्रजा दुई हजारको लोभमा फसेको बताउँछन् ।

दिनभर गाउँमा काम गर्दा एक सय ज्याला पाउनेमा गाउँबाट वनसम्म रासन पानी पु¥याउँदा दुई हजार पाउँछु भनेर लागेकै कारण अहिले १५ वर्ष कारागार जीवन बिताउनु परेको दुःखेसो गर्छन् । कसैको सामग्री बोक्दा होस् वा कसैसँगैसँगै बसेर भोज खाँदा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले भने “मेरो जीवन त सकी नै हाल्यो, अरुको जीवन यस्तो नहोस् ।”दुर्लभ वन्यजन्तुको संरक्षणमा सबै जुट्नुपर्ने भन्दै उनले अपराध कर्ममा कोही पनि लाग्न नहुने बताए । “टाठाबाठाले अझै पनि हाम्रा गाउँका सोझासाझा फसाउन सक्छन्, तपाइँहरुले सन्देश प्रवाह गरिदिनु प¥यो” वीरबलको आग्रह छ ।

चालीस वर्षीय वीरबल २०६२ साउन ७ गतेदेखि भरतपुर कारागारमा छन् । १५ वर्ष जेल र एक लाख जरिवाना तोकिएका उनलाई अहिले एक लाख जरिवाना कसरी तिर्ने भन्ने चिन्ताले पनि सताएको छ ।

उनले भने “एक लाख तिर्नसक्ने अवस्था छैन, त्यसबापत थप चार वर्ष कारागार बन्नुपर्ने अवस्था छ ।” दुर्लभ एकसिंगे गैँंडाको खाग चोरी तस्करी गर्नेलाई अधिकतम् १५ वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । जसमध्ये जरिवाना तिर्न नसक्नेले थप चार वर्ष जेल जीवन बिताउनुपर्ने हुन्छ ।

कारागारमै दोस्रोपटक गैँंडा तस्करीमा परेका मकवानपुर बसामाडीका रामशरण विक पनि अहिले पछुताउमा छन् । अरुको भन्दा छुट्टै जीवनचर्या हाउभाउ देखाउने उनी गल्तीको प्रायश्चित गर्दै कारागार जीवन बिताइरहेका छन् ।

तीनवटा गैँंडा मारेर खाग बिक्री गरेको स्वीकार्ने उनले यही पैसाले काठमाडाँैंमा घर किने । तीनवटी श्रीमती भित्र्याए । गाडी चढेर सेनाको पोशाक लगाएर आफूलाई सेनाको मेजर भन्दै सेना र प्रहरी दुवैलाई छक्काएर खाग तस्करीमा संलग्न उनी अहिले जीवनको ठूलो पछुतोमा छन् ।

कमाएको पैसाले कान्छी श्रीमतीको नाममा काठमाडौँंमा किनेको घर अहिले बिक्री गरेर कान्छी श्रीमती सम्पर्कविहीन छन् । उनले पछुतो मान्दै भने “जसरी कमाएँ, यसैगरी गुम्यो, यस्तो अपराधिक कर्ममा कोही नलागोस् ।”

पहिलोपटक पाँच वर्ष कारागार परेका उनी ४२ महिना कारागार बसेर छुटेका थिए । त्यसपछि उनी झन् सुरो तस्करका रुपमा प्रस्तुत भए, जसले तीन गैँंडा मात्रै मारेनन् उनीसँगै धेरैको जीवन बर्वादीमा पु¥याए । अहिले ४४ वर्षका उनी कारागारबाट निस्कँदा ५१ वर्षका हुनेछन् । त्यसपछिको जीवन तस्करी नियन्त्रण र गैंँडा संरक्षणमा लाग्ने उनको भनाइ छ । भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफ्ले सामान्य अपराधदेखि जघन्य अपराध गर्नेसम्म कारागारमा रहेको बताउँनुहुन्छ । अशिक्षा र गरिबीकै कारण आपराधिक कार्यमा लाग्नेको संख्या ठूलो रहेको भन्दै उहाँले अपराध गर्नु हुन्न भन्ने सन्देश दिन जरुरी रहेको बताउनुभयो ।

दुर्लभ वन्यजन्तु चोरी शिकार गर्दा यो हदको कारबाही व्यहोर्नुपर्छ भन्ने सन्देश फैलाउन सके यस्ता कार्यमा कमी आउने उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल गैंँडा मारेर खाग तस्करीमा संलग्न एक सय जनाभन्दा बढी अझै फरार सूचीमा रहेको बताउनुहुन्छ ।

निकुञ्जले गैंडा संरक्षणका बारेमा गाउँगाउँमा जनचेतना फैलाउँदै आएको बताउँदै कँडेलले चेतना फैलाउने कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया