अघिल्लो वर्ष ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सम्पन्न ३१ औँ गृष्मकालिन ओलम्पिकमा सहभागी हुँदा जुडोकी खेलाडी फुपुल्हामु खत्री महिनावारी भएकी थिइन् । महिनावारी भएको तेस्रो दिनमा उनी क्युवाकी खेलाडीसँग प्रतिस्पर्धा उत्रिइन् ।

चार मिनेटसम्म चल्ने यो प्रतिस्पर्धामा उनी पुरै समय टिकेर खेलिन् । तर १ अंकले मात्र फुपुल्हामु पराजित भइन् । फुपुल्हामु त्यसरी टिकेर खेल्न सकेकोमा सन्तुष्ट छिन् । महिनावारी भएका बेला पेट दुख्ने, ढाड दुख्ने लगायतका समस्या देखिने भएपनि फुपुल्हामुु त्यतिबेला आफ्नी प्रतिद्वन्द्वीलाई कसरी पन्छाउन सकिन्छ भन्ने ध्याउन्नमा थिइन् ।

तेक्वान्दो खेलाडी निशा रावल

‘मलाई आफूलाई महिनावारी भएको छ भन्ने दिमागमै आएन’ उनले भनिन्, ‘त्यस्तो भन्ठानेको भए कसरी पुरै खेलमा टिक्न सक्ने खेलाडीको दर्जा पाउथे र ?’ उनलाई यसबाहेक खेलेका कति वटा खेलमा त महिनावारी भएको पनि त्यत्ति पत्तो छैन रे । ‘खेलमा मात्र ध्यान हुन्छ, कहिलेकाँही त महिनावारी भएको छु भन्ने पनि ख्याल हुन्न’ उनले थपिन् ।

२१ वर्षीया फुपुल्हामुु सागमा जुडोबाट स्वर्णपदक ल्याउने पहिलो महिला खेलाडी मात्र नभएर समग्रमा नै पहिलो खेलाडी हुन् । उनी यही २४ कात्तिकदेखी राष्ट्रियस्तरका जुडो खेलाडीको छनौट क्याम्पमा सहभागी हुनेछिन् ।

रियो ओलम्पिककी सशक्त खेलाडी तेक्वान्दो खेलाडी निशा रावललाई महिनावारी हुँदा अलि–अलि गा¥हो हुने गरेको छ । तर, जब उनी रिङभित्र प्रवेश गर्छिन्, तब सबै पीडा भुल्छिन् । ३ वटा जति प्रतियोगिताका मुख्य प्रतिस्पर्धाका दौरान उनी महिनावारीमा थिइन् । १ सय ४० देशले भाग लिएको युनिभर्सिटी गेम्समा उनको प्रतिस्पर्धा राम्रो हुन सकेन ।

ताइवानमा भएको खेलमा महिनावारी भए पनि आफ्नो शरीरको समस्यालाई दबाएर उनले प्रतिस्पर्धा गरिन् । यसैगरी दक्षिण कोरियामा सम्पन्न जिन्जु ओपन अन्तर्राष्ट्रिय म्याचमा पनि उनी महिनावारी भएकै अवस्थामा थिईन् । २ दिनको महिनावारी भएकी निशा त्यो बेला पदक ल्याउन सफल भईन् । स्वर्ण पदककै आशा गरिएपनि फाइनलमा कोरियन खेलाडीसँग पराजित हुँदै निशाले रजत पदक जितिन् । खेलका दौरान आत्म विश्वासका साथ रिङमा उत्रने निशालाई महिनावारीले केही न केही समस्या पारेपनि खेलमा भने कुनै असर गरेको छैन ।नवीन लुईटेलले महिला खबरमा लेखेका छन् ।

दोस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय ओपन च्याम्पियन्सीपमा स्वर्ण पदक, हङकङ ओपन एशियन सिटीज च्याम्पियनसीपमा पनि उनले स्वर्ण पदक जितीसकेकी छिन् । ‘यो महिलाको कमजोरी होइन, यो त प्राकृतिक प्रक्रिया हो’ निशाले भनिन् । उनी अहिले लुम्बीनी गेमको तयारीमा छिन् ।

सजना रानामगर अहिले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान हुन् । सन् २०१० को साग गेमबाट राष्ट्रिय टिममा डेब्यु गरेकी सजनालाई महिनावारीका समयमा समस्या हुन्छ । उनलाई पेट दुख्ने, ढाड दुख्ने समस्याले सताउँछ । तर, उनी पनि प्रतियोगिता खेलिरहँदा महिनावारीबाट हुने समस्याबाट त्यत्ति पीडित छैनन् । उनले खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताभन्दा घरेलु प्रतियोगिता र अभ्यासका समयमा आफू महिनावारी भएको बताइन् । त्यसले आफूलाई केही असर नगरेको उनले बताइन् ।

स्याङ्जा वालिङकी सजनाले खेलेका सबैजसो खेलमा नेपाल दोस्रो भएको छ । जसमा भारत नै च्याम्पियन बनेको छ । सन् २०१०, २०१२, र २०१४ भएका साफ च्याम्पियनसीप फुटबलमा नेपाल दोस्रो भयो । यस्तै ११ औँ र १२ औँ सागमा पनि नेपालले रजत पदक पाएको छ । यी प्रतियोगितामा सजनाको महत्वपूर्ण भूमिका छ । क्लबतर्फ उनले एपिएफबाट खेल्ने गर्छिन् । क्लबमा ट्रेनिङ धमाधम भइरहेको छ ।

मंसिरमा हुने सेनापति कप फुटबलको पनि तयारी छ । उनले १ वर्षसम्म महिलाको गेम नभएकोमा दुख व्यक्त गरिन् । महिनावारीका समयमा सरसफाइका निम्ति चाहिने सामग्री आफैले प्रबन्ध गरेको उनले बताइन् ।

जसरी पुरुष खेलाडीहरू मैदानमा प्रतिद्वन्द्वी विरुद्ध उत्रिरहेका हुन्छन्, त्यसैगरी महिला खेलाडीहरू पनि कम देखिदैनन् । नेपालका लागी महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय पदक एवं उपाधी दिलाउन खेलेको भूमिका निकै महत्वपुर्ण छ ।

विश्वमै सबैभन्दा चर्चित र महत्वपूर्ण प्रतियोगिताका रुपमा ओलम्पिकलाई लिइन्छ । ओलम्पिकमा संगीना बैद्यको प्रर्दशन होस् या निशा रावल र फुपुल्हामुु खत्रीको । ओलम्पिकमै यी बाहेक अरु पनि महिला खेलाडीले सहभागीता जनाएका छन् । एशियाली स्तरीय खेलकुदको कुरा गर्दा पनि महिला खेलाडीले जत्तिको पदक अरु कसैले ल्याउन सकेको छैनन् ।

१३ औं एशियाली खेलकुदमा सविता राजभण्डारीले ल्याएको रजत पदक नेपालकै सबैभन्दा ठुलो उपलब्धि मानिन्छ । यसरी मैदान, रिङ, पिचमा आफ्नो देशको नाम चिनाउन उत्रने महिला खेलाडीहरूमा विभिन्न शारीरिक, मानसिक समस्याले सताएको हुन्छ । तर, खेलका दौरान आम दर्शक, खेलप्रेमी या जनताले त्यसलाई महसुस गर्दैनन् ।

महिनावारीलाई समस्याको रुपमा नभई प्राकृतिक प्रक्रियाको रुपमा लिने महिला खेलाडीहरूले महिनावारी भएकै बेला राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका खेलहरूमा भाग लिएका छन् । महिनावारीले उनीहरूको कुनै पनि खेलहरूमा बाधा पुर्याएको छैन । महिला खेलाडीहरूमा महिनावारी हुँदा कसैकसैलाई समस्या हुने गरेको छ । तैपनि उनीहरू यसलाई समस्याका रुपमा नलिई सावधानीका उपाय अवलम्बन गरेर खेलमा लागिरहेका छन् ।

तेक्वान्दो खेलाडी निशा रावल तेक्वान्दो खेलाडी निशा रावल महिनावारी भएका बेला राम्रो गर्नु हुन्न, कसैलाई छुनु हुन्छ भन्ने सोच गलत भएको तर्क गर्छिन् । भन्छिन् ‘हामी त महिनावारी भएकै बेला देश विदेश घुम्छौं । बाटोमा कति नदी नाला, ताल तलैया, मठ मन्दिर पर्छन् । राम्रो नराम्रो सबै ठाउँमा जानुपर्छ । सबैसँग घुलमिल हुनुपर्छ । यदी कसैलाई छुदा वा मठ मन्दिर, ताल तलैयामा जाँदा पाप लाग्ने भए त देशकै शीर उचो बनाउने पदक तथा पुरस्कारहरू जित्थ्यौ होला र ?’ उनले महिनावारी कुनै पाप नभएर सामान्य प्रक्रिया हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताइन् ।

नेपालमै हुने प्रतिस्पर्धामा आयोजकले महिनावारी जस्तो कुरामा ध्यान नदिएको प्रति भने खेलाडी महिलाहरूको गुनासो छ । ‘महिला खेलाडीहरू महिनावारी हुन्छन् र खेलको बेला उनीहरूको महिनावारीको समय पनि हुन सक्छ भन्ने दुरदर्सिता आयोजकहरूमा छैन’ सजना रानामगरले भनिन्, ‘आयोजकबाट महिनावारीका समयमा लाग्ने सामग्रीको व्यवस्था गरिदिएको हुँदैन । त्यसप्रति हामी आफैले चनाखो भएर पूर्व तयारी गर्नुपर्छ ।’ विदेशमा भने त्यस्तो कुरामा कम्प्लेन गर्ने ठाउँ नै नआउने भन्दै सजनाले भनिन् ‘तर हामी पर्सनल क्यारी गरेर पनि लैजान्छौँ ।’

महिनावारीका समयमा शारीरिक काम गर्न मिल्ने स्त्री रोग विशेषज्ञ बताउछन् । ‘महिनावारीका समयमा धेरै रक्तश्राव हुनेले मात्र काम गर्न नमिल्ने हो । व्यायाम र शारीरिक परिश्रम गर्ने खेलाडीले खेलमा लाग्दा फरक पर्दैन’ स्त्री रोग विशेषज्ञ डाक्टर रंगिना साहले भनिन् । उनका अनुसार कुनै ठुला प्रतियोगिता खेल्न जानुपरेमा चिकित्सकको सल्लाह बमोजिम महिनावारी केही दिन पर सार्ने औषधी सेवन गर्न सकिन्छ ।

तेक्वान्दो खेलाडी निशा रावल महिनावारी भएका बेला राम्रो गर्नु हुन्न, कसैलाई छुनु हुन्छ भन्ने सोच गलत भएको तर्क गर्छिन् । भन्छिन् ‘हामी त महिनावारी भएकै बेला देश विदेश घुम्छौं । बाटोमा कति नदी नाला, ताल तलैया, मठ मन्दिर पर्छन् । राम्रो नराम्रो सबै ठाउँमा जानुपर्छ । सबैसँग घुलमिल हुनुपर्छ । यदी कसैलाई छुदा वा मठ मन्दिर, ताल तलैयामा जाँदा पाप लाग्ने भए त देशकै शीर उचो बनाउने पदक तथा पुरस्कारहरू जित्थ्यौ होला र ?’ उनले महिनावारी कुनै पाप नभएर सामान्य प्रक्रिया हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताइन् । समाज परिवर्तनशिल भएपनि महिनावारीका सन्र्दभमा अझै गलत मानसिकता रहिरहेको प्रति स्त्री रोग विशेषज्ञहरू चिन्तित छन् । ‘महिनावारी आफैँमा स्वास्थ्य समस्या होइन । यो त प्राकृतिक कुरा हो’ स्त्री रोग विशेषज्ञ डा. रंगिना साहले भनिन् । तैपनी यो प्रति गलत मानसिकता यथावतै रहेको र यससम्बन्धी भ्रम चिर्नु जरुरी रहेको उनले बताइन् ।

महिनावारीका समयमा प्रशस्त मात्रामा पौष्टिक आहार खाने, विशेषगरी आइरन धेरै भएका खानेकुरा माछा, मासु, हरिया सागसब्जी आदि खाने, सरसफाइमा विशेष ध्यान दिने, सफा ठाउँमा बस्ने र नियमित नुहाउनेमा खेलाडीले ध्यान दिनुपर्ने स्त्री रोग विशेषज्ञहरू बताउँछन् । खेलाडीहरूले प्रोटिन र क्याल्सीयम बढाउने डाइट बढि खानुपर्ने सुझाव उनीहरूको छ ।

महिनावारी एक प्राकृतिक प्रक्रिया हो । तर यस सम्बन्धि उचित ज्ञान नपाउँदा र ध्यान नदिँदा कतिपयका लागि समस्या बनिरहेको छ । जसले गर्दा कति महिला शारीरिक रुपमा मात्रै होइन, मानसिक रुपमा पनि पीडा खेपिरहेका छन् उनले भनिन्, ‘कतिपयले यस बारेमा उचित ज्ञान नपाएर प्रशस्त भ्रम पालेका छन् भने कतिपयले हेलचेक्र्याइँ गर्ने गरेका छन् । दुवै कार्य स्वास्थ्यका लागि हानिकारक छन् ।’ महिनावारीसँग सम्बन्धित भएर आउने समस्यालाई लाजका विषय बनाउँदा जटिल स्वास्थ्य समस्या निम्त्याइरहेका छन् ।

महिनावारीलाई महिलाको स्वास्थ्य, सरसफाई र धर्मसँग पनि जोडेर हेर्ने गरिएको छ । महिनावारीका बेला गरिने बिभिन्न विभेद ग्रामीण भेगमा मात्र नभई सहरी क्षेत्रका शिक्षित वर्गमा पनि कायम रहेकाले यसलाई खुलेर प्रतिकार गर्न महिलासंगै पुरुषले पनि साथ दिनुपर्ने स्त्री रोग बिशेषज्ञ तथा अधिकारकर्मीको जोड छ ।

तपाईको प्रतिक्रिया