एजेन्सी । नेपालमा झैँ बलिउडमा पनि केही कलाकार एक–अर्कालाई मन पराउँदैनन् । जस्तो रेखा थापा निखिल उप्रेती र राजेश हमालसँग फिल्म खेल्न मन पराउँदिनन् । त्यसैगरी, आर्यन सिग्देलले ‘कसले चोर्‍यो मेरो मन’पछि रेखासँग फिल्म खेल्न मानेका थिएनन् । बलिउडमा पनि केही हिरो, हिरोइन एक–अर्कासँग काम गर्न मान्दैनन् । व्यक्तिगत दुस्मनीका कारण व्यावसायिक सम्बन्धमा समेत असर गर्ने गरेको छ । बलिउडमा को–को सँगै काम गर्न चाहँदैनन् त ? यसबारे भारतीय अनलाइनले एउटा रिपोर्ट तयार पारेको छ ।

विपाशा बसु–जोन अब्राहम विपाशा र जोन झन्डै एक दशक लिभ इन रिलेसनसिपमा बसे । पछि उनीहरूको ब्रेकअप भयो । ब्रेकअपपछि उनीहरू एक–अर्काको नाम त सुन्न चाहँदैनन् भने सँगै फिल्म खेल्ने कुरा त कल्पना मात्रै हो । विपाशा उप्रान्त जोनसँग फिल्मचाहिँ कहिल्यै नखेल्ने बताउँछिन् । जोनले पनि विपाशासँग फेरि फिल्म खेलियो भने महाभूल हुने बताउने गरेका छन् ।

आमिर खान–अनुष्का–क्याट्रिना आमिर खान अनुष्का शर्मा र क्याट्रिना कैफसँग काम गर्न चाहन्नन् । त्यसको कारण उनीहरूसँग सम्बन्ध बिग्रिएकाले भने होइन । फिल्मको मामलामा आफू निकै गम्भीर भएको र दर्शकलाई हरेक फिल्ममा केही नयाँ दिने चाहनाबमोजिम हत्तपत्त हिरोइन नदोहोर्‍याउने गरेको दाबी उनको छ । अनुष्का र क्याट्रिनासँग केही फिल्ममा सँगै काम गरिसकेकाले आफू अब उनीहसँगै देखिन नचाहने उनी बताउँछन् । आफूले निकै कम हिरोइनसँग दोहोर्‍याएर काम गरेकाले आमिर नयाँ हिरोइनको खोजीमा हुने गर्दछन् ।

करण जौहार–गोविन्दा र डेबिड धवन गोविन्दाले पहिला निर्देशक डेबिड धवनका थुप्रै फिल्ममा अभिनय गरेका थिए । तर, पछि उनले आफू उप्रान्त डेबिड र करण जौहारसँग कहिल्यै पनि काम गर्न नगर्ने बताए । आफूलाई समस्या परेका वेलामा डेबिडले आफ्नो साथ छाडेको आरोप लगाउँदै गोविन्दाले चित्त दुखाएका हुन् । करणले भने आफ्नो अगाडि मीठो बोले पनि आफूलाई सधैँ होच्याउने गरेको अनुभव गोविन्दाको छ । करणले मुखले ठिक्क पार्ने, तर व्यवहारमा सहयोग नगर्ने गरेको उनी बताउँछन् । ‘करणले जानीजानी मेरो फिल्मसँग आफ्नो फिल्म रिलिज गरे । उनले मेरो फिल्म फ्लप होस् भनेर नै त्यसो गरेका हुन् । त्यति मात्रै होइन, उनले मलाई अहिलेसम्म ‘कफी विथ करण’मा बोलाएका छैनन् ।’ गोविन्दाको दुखेसो छ । नयाँ पत्रिकाले छापेको छ ।

सलमान खान–विवेक ओवराय सलमान खान अर्का अभिनेता विवेक ओवरायसँग काम गर्न चाहँदैनन् । सलमान हिरोइनको मामलामा आफूले लचकता अपनाउन सक्ने भए पनि बलिउडका केही कलाकारसँग भने आफू जोडिनै नचाहने बताउँछन् । सलमान र विवेकबीच ऐश्वर्या रायको विषयलाई लिएर ठूलै विवाद भएको थियो । त्यहाँदेखि सलमानले विवेकलाई घृणा गर्ने गरेका छन् । सलमान विवेकसँग फिल्म त के कुरा गर्न पनि चाहँदैनन् ।

कंगना रनावत–ऋतिक रोशन कंगना रनावत ऋतिक रोशन र आदित्य पञ्चोलीको मुख पनि हेर्न चाहँदिनन् । उनको पहिला आदित्य र पछि ऋतिकसँग प्रेम थियो । ऋतिक र आदित्यले आफूलाई जीवनमा निकै दुःख दिएकाले उनीहरूसँग कहिल्यै काम गर्न नचाहने दाबी कंगनाको छ।

तपाईको प्रतिक्रिया