काठमाडौं, कात्तिक १५

विश्व बैंकले नेपालका सडक कालोपत्रे गर्न भित्र्याएको ‘ओटासिल’ प्रविधि असफल भएको छ । कालोपत्रे छोटो समयमै उप्किन थालेपछि सडक विभागले यो प्रविधि पूर्णरूपमा त्याग गरिसकेको छ ।सडक भत्किन थालेपछि सडक विभागले ओटासिल प्रविधि त्याग गरेको भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

सडक विभागले आर्थिक वर्ष ०६०÷६१ मा सात करोड रुपैयाँ खर्चेर ओटासिल गरेको गोरुसिंगे-सन्धिखर्क सडक पटक-पटक मर्मत गरी टिकेको थियो । त्यसपछि विभागले ओटासिल गरेको पाल्पा-तम्घास, तेह्रथुमको वसन्तपुर-म्याङलुङ, सुर्खेत-जुम्ला, बाग्लुङ-प्युठान, सिरहा उदयपुर जोड्ने मिर्चैया-कटारी-घुर्मी, सुर्खेतको छिन्चुबाट जाजरकोटसहितका आधा दर्जनभन्दा बढी सडक ओटासिल गरेको थियो । यी सबै सडक दुई वर्ष पनि टिकेनन् ।

आव ०७२÷७३ बाट सुरु भएको पाँचबर्र्से योजनाअन्तर्गत डोलिडारले ७५ जिल्लामै ग्रामीण सडक निर्माण र स्तरोन्नतिको कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमअन्तर्गत हाल ५९ वटा सडकका सात ७० किलोमिटरमा ओटासिल भइरहेको छ । यसमध्ये विभिन्न १० वटा सडकका ९० किमि मात्रै पूूरा भएको डोलिडारले जनाएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित यो कार्यक्रमअन्तर्गत डोलिडारले ४९ वटा सडकको ६ सय ८० किमिमा ओटासिल गरिरहेको छ ।

डोलिडारले गत वर्ष १७ सय किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्दा ओटासिलमा मात्रै ६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको थियो । विश्व बैंकले परीक्षणका रूपमा नेपाल भित्र्याएको यो प्रविधि नेपालमा असफल भए पनि विश्व बैंकले लगानी गरेका धेरैजसो सडकमा एक दशकदेखि यही प्रविधि प्रयोग गरिँदै आएको छ । पछिल्लो समय सरकारको लगानी भएका कतिपय सडकमा समेत यो प्रविधि प्रयोग भएको छ ।

असफल भएको जान्दाजान्दै अहिले पनि नुवाकोटको मान्द्रेढुंगा-खड्का भञ्ज्याङको साढे १२ किलोमिटर सडकमा ओटासिल भइरहेको छ । ओटासिल प्रविधि नेपालमा असफल भएको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए । ‘हामीले ओटासिलमा समस्या आएपछि प्रयोग गर्न छोडेका हौं’, उनले भने । ग्रामीण तथा कृषि सडकमा डोडिलारले भने यही प्रविधि प्रयोग गर्दै आएको छ ।

ग्राभेलमाथि अलकत्रा छरेर गिट्टीलाई सिल गर्ने कामै ओटासिल प्रविधि हो । यो प्रविधिबाट थोरै लगानीमा धेरै सडक बनाउन सकिन्छ । ओटासिल सडक विभागले प्रयोग गरिरहेको एस्फाल्ट पिचको तुलनामा ६० प्रतिशतसम्म सस्तो हुन्छ । यसलाई प्रयोग गर्ने विधि नै उपयुक्त नभएकाले ओटासिल गर्न छाडेको विभागका सहप्रवक्ता सिंहको भनाइ छ । यो प्रविधि सडकमा बिछ्याइएको ग्राभेल टिकाउन र कम सवारी गुड्ने, धेरै लोड नहुने स्थानमा मात्र प्रयोग गर्नुपर्ने उनले बताए ।

ओटासिल छोटो समयका निम्ति सडकको अवस्था बिग्रन नदिन ग्राभेल बाँध्ने विधि मात्रै भएको गोरुसिंगेदेखि सन्धिखर्कसम्म भएको पहिलो ओटासिल सडकका तत्कालीन प्रमुख देवेन्द्रप्रसाद साहले जानकारी दिए । कान्ति लोकपथका योजनाप्रमुख साहका अनुसार नेपालमा बढी घुमाउरो, धेरै उकालो ओरालो र बढी भारका सवारी कुद्ने गरेकाले ओटासिल नटिकेको हो ।

विश्व बैंकका एक अधिकारीका अनुसार संसारमा चलेको यो प्रविधि नेपालमा पनि प्रयोग गरिएको हो । ती अधिकारीका अनुसार विश्व बैंकले नेपालमा सन् २००५ देखि सुरु गरेको यो प्रविधि प्रयोग गरेर सडक विभागबाट मात्रै नेपालको पश्चिमी क्षेत्रमा आठ सय किलोमिटर सडक ओटासिल गरिएको छ । नेपालमा यसको प्रयोग राम्रो भयो वा भएन भन्नुभन्दा पनि यसको प्रयोगसम्बन्धी प्रतिवेदनले के देखाएको छ भनेर हेर्नुपर्ने बुझाइ विश्व बैंक अधिकारीको छ ।

नेपालमा प्रयोग गरिएको यो प्रविधि कुन ठाउँमा उपयुक्त हुन्छ र प्रविधिक रूपले उपयुक्त मानिएको स्थानमा मात्रै प्रयोग हुनुपर्ने बुझाइ विश्व बैंकका एक अधिकारीको छ । उनले नेपालमा ग्रामीण सडक तथा पूर्वाधारसहितको ओटासिल सडक हेर्ने आधिकारिक व्यक्ति संयुक्त राज्य अमेरिकामै बस्ने भएकाले पनि आफूले आधिकारिक रूपमा बोल्न नमिल्ने प्रस्ट पारे ।

तपाईको प्रतिक्रिया