काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा दुई ठूला दलको नेतृत्वमा गठित राजनीतिक गठबन्धनले वैचारिक रूपमै राजनीतिक ध्रुवीकरण बढाउने देखिएको छ।

कांग्रेसले मंगलबार जारी गरेको चुनावी घोषणापत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई चुनावी तालमेलका रूपमा मात्रै सीमित राखिएको छैन, एकदलीय साम्यवादी कम्युनिस्ट शासन स्थापना गर्ने लक्ष्यसाथ यस्तो गठबन्धन गरिएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध एक ठाउँमा उभिन आम लोकतन्त्रवादीलाई आहवान गरिएको छ। यसले दुई गठबन्धन शक्तिबीच वैचारिक ध्रुवीकरण तीव्र हुने संकेत गरेको छ।

घोषणापत्र निर्माण समितिका संयोजक नेता महेश आचार्यले कम्युनिस्ट गठबन्धनकै कारण मुलुकमा सैद्धान्तिक र दार्शनिक ध्रुवीकरण बढ्ने खतरा देखिएको बताए। उनले दुई विशाल छिमेकी भारत र चीनबीच रहेको मुलुकमा गैरकम्युनिस्ट, प्रगतिशील, राष्ट्रवादी शक्तिहरू र कठोर साम्यवादी दर्शन लिएका शक्तिको टक्करले नेपाली राजनीति फेरि विवादको भुमरीमा फस्ने चिन्ता देखिएको बताए।

आफ्नै नेतृत्वको सरकारको मुख्य सत्ता साझेदार माओवादी केन्द्रको एमालेसँगको एकता साम्यवादी शासन स्थापना गर्ने लक्ष्यसाथ नै भएको ठम्याइ कांग्रेसको छ। एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्म पुग्ने गरी चुनावी गठबन्धन बनेयता नेताहरूका अभिव्यक्तिलाई लिएर कांग्रेस यस्तो निक्र्योलमा पुगेको हो।

एमाले र माओवादी केन्द्रका नेताहरूले वामपन्थी गठबन्धनद्वारा दुई तिहाइ ल्याई संविधान संशोधनमार्फत राजनीतिलाई स्थायित्व दिन राष्ट्रपतीय प्रणालीमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। यसबाट कांग्रेस झस्किएको मात्र छैन, यसैलाई चुनावको मुख्य मुद्दा बनाउने निष्कर्षमा पुगेको छ। कांग्रेसले आफ्नो घोषणापत्रमै ‘कम्युनिस्ट गठबन्धनका नेता र योजनाकारहरूले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको’ उल्लेख गरेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया